काठमाडौं । रणनीतिक साझेदार भित्र्याएर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को पुनर्संरचना गर्न सकिने सुझाव दिएको छ। प्रकाश जङ्ग थापाको नेतृत्वमा गठित नेप्से पुनर्संरचना सम्बन्धी सुझाव समितिले पेस गरेको प्रतिवेदन अनुसार नेप्सेको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न २५ प्रतिशतसम्म सेयर स्वामित्व (कम्तीमा १० वर्ष लक-इन अवधि सहित) रणनीतिक साझेदारलाई दिन प्रस्ताव गरेको हो ।
प्रतिवेदन अनुसार रणनीतिक साझेदार विश्वका शीर्ष २० स्टक एक्सचेञ्ज मध्ये एक हुनुपर्ने, कम्तीमा २० वर्षको अनुभव तथा आधुनिक सूचना प्रविधि र नविनतम लगानी उपकरण प्रयोगको अनुभव भएको हुनुपर्नेछ ।
रणनीतिक साझेदारबाट नेप्सेको सञ्चालक समितिमा एक जना विज्ञ सञ्चालक अनिवार्य रूपमा रहने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
प्रतिवेदनले सरकारी स्वामित्व भएका संस्थामा देखिने संरचनागत कमजोरीहरू औंल्याउँदै नेप्सेमा रहेको सरकारी लगानीलाई कालान्तरमा आंशिक रूपमा विनिवेश गर्नुपर्ने सुझाव दिएको छ । तर सरकारको पूर्ण बहिर्गमनले साना लगानीकर्ताको विश्वास कमजोर हुन सक्ने भन्दै आंशिक स्वामित्व कायम राख्ने विकल्प सुरक्षित मानिएको छ ।
सरकारी सेयर रणनीतिक साझेदार, वित्तीय संस्था तथा सर्वसाधारणलाई बिक्री गर्न सकिने प्रस्ताव छ । वित्तीय संस्थाको हकमा भने कुनै एक संस्था वा सम्बन्धित समूहले नेप्सेको कुल सेयर पुँजीको ५ प्रतिशतभन्दा बढी स्वामित्व लिन नपाउने व्यवस्था गर्न सुझाव दिइएको छ ।
प्रतिवेदनअनुसार धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ ले व्यवस्था गरेअनुसार दोस्रो बजार सञ्चालकको न्यूनतम चुक्ता पुँजी ३ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ । हालको अवस्थामा नेप्सेको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ पुर्याउन बोनस सेयर जारी गर्नु उपयुक्त हुने सुझाव दिइएको छ । भविष्यमा थप लगानी आवश्यक परेमा हकप्रद सेयर वा नयाँ सेयर जारी गर्न सकिने विकल्प खुला राखिएको छ । तर पुँजी वृद्धि अघि रणनीतिक साझेदारसम्बन्धी स्पष्ट नीति तय गर्नुपर्ने उल्लेख गरिएको छ ।
थापा नेतृत्वको समितिले नेप्सेको हालको स्वामित्व र सञ्चालन संरचनाबाट दीर्घकालीन अवसर र चुनौतीहरू सामना गर्न कठिन हुने ठहर गरेको छ । व्यवस्थापन, प्रविधि र सेवामा व्यापक सुधारका लागि सञ्चालक समिति र स्वामित्व संरचनामै परिवर्तन आवश्यक देखिएको प्रतिवेदनमा उल्लेख छ ।