जलवायु परिवर्तनले बाली बिरुवा, पशुपन्छी, मत्स्य क्षेत्र प्रभावित भएको कृषि वैज्ञानिकले बताएका छन्।
नेपालमा पछिल्लो समय खडेरी, धेरै पानी पर्ने, अत्यधिक तापक्रमजस्ता मौसमी परिवर्तन देखिएको छ । यसले कृषि क्षेत्रलाई प्रत्यक्ष तथा अप्रत्यक्ष असर पुर्याइरहेको छ।
पानी नपर्ने तर एकै पटक धेरै पानी पर्ने गर्दा होचो क्षेत्रमा बाढी, माथिल्लो क्षेत्रमा पहिरो जाने भएर कृषिमा असर परेको नेपाल कृषि अनुसन्धान (नार्क) अन्तर्गत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत कुमारमणि दाहालले बताए।
पछिल्लो समय वातावरणीय असरका कारण विभिन्न रोग र किरा देखिन थालेका छन्। मकै बालीमा पाँच वर्ष अगाडि फौजी किरा देखा पर्दैनथिए तर त्यस यता फौजी किरा देखिन थालेको राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्रकी बाली रोग वैज्ञानिक चेतना मानन्धरले बताइन्।
पछिल्लो समय मौसमी परिवर्तनलाई मध्यनजर गर्दै विगत १० वर्षदेखि नार्कले मौसमी बुलेटिन, मोबाइल एसएमएस, किसान कल लगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर यी विषय किसानसम्म भने पुग्न सकेको छैन। पुगे पनि किसानले वास्ता नगर्दा क्षति बेहोर्नुपर्ने समस्या देखिएको छ । किसान मौसमी जानकारीमा सचेत हुनुपर्ने विज्ञहरूको सुझाव छ।
केन्द्रका प्राविधिक अधिकृत कुमारमणि दाहालले नीतिगत पहल गर्नुपर्ने सुझाए । ‘जलवायुमैत्री कृषि अवलम्बन गर्नु पर्छ, जस्तोकि सुक्खा क्षेत्रमा सुक्खा सहन सक्ने धान सुक्खा १, २, ३, ४ सम्म विकास गरेको छ । छोमनोग, माछापुच्छ«े धान जातले चिसो सहन सक्ने जात छन् । मकैमा हाइब्रिड जात रामपुर ८ र १० भनेर विकास गरिएको छ,’ उनले भने, ‘आफ्नो क्षेत्रको मौसम अनुसार जातको छनौट गरी खेती गर्ने ।’ उनले नीतिगत रूपमा ‘चेन अफ कमाण्ड’ गर्नुपर्ने, कृषि प्राविधिकलाई दक्ष बनाउनु पर्ने सुझाए ।
यस्तै निला पौडेलले वातावरणीय अनुसार जातीय विकासमा जोड दिनुपर्ने बताइन् । ‘जातीय विकास गर्नु पर्यो । असिना सहन सक्ने, सुक्खा सहन सक्ने केही जात हामीले दर्ता गरेका छौँ,’ उनले भनिन्, ‘त्यस्ता जात किसानले खेती गर्नुपर्छ । स्वास्थ्य बिउको प्रयोग हुनुपर्छ ।’
वातावरणले असर पुर्याउने कृषि क्षेत्रको लक्षित वर्ग भनेको कृषक हो । उनीहरूसम्म प्रविधि पुग्ने गरी प्रणाली सुधार गर्नुपर्ने पौडेलको भनाइ छ ।
नार्कले अनुसन्धान गरेको प्रविधि किसानसम्म पुर्याउन स्थानीय तहले समन्वय गर्नुपर्ने, अनुसन्धानमा लगानी र जनशक्ति बढाउनुपर्ने सुझाव विज्ञले दिएका छन् । यसका साथै किसानले आफ्नो क्षेत्रमा उत्पादन हुने बाली अनुसार मौसममा ध्यान दिनुपर्ने बताएका छन् ।