दुधौली, विश्व वातावरण दिवसको उपलक्ष्यमा सिन्धुलीको दुधौली नगरपालिकाले सप्ताहव्यापी रुपमा वातावरण सम्बन्धी विभिन्न कार्यक्रम गरेको छ, र चुरे उत्थानशील आयोजनासँग मिलेर वृक्षरोपण गरेको छ। वातावरण स्वच्छ बनाउने र दुधौली नगरपालिकाको वायु स्वस्थ बनाउने उद्देश्यले अशोक, गुलमोहर र धुपीका १२० बिरुवा रोपिएका छन्।
आयोजनाका मधेस प्रदेश संयोजक राम बालक यादवले दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीलाई एउटा बिरुवा हस्तान्तरण गरेर वृक्षरोपणको शुरुवात गरेका छन्।
दुधौली–९ स्थित निर्माणाधीन नगरपालिका भवनको प्राङ्गणमा अशोक, गुलमोहर र धुपीका बिरुवा १२० बिरुवा रोपिएका छन् । मेयर, नगरपालिकाका अन्य पदाधिकारी, प्रहरी अधिकृत तथा समुदायका सदस्यहरुले बिरुवा रोपेका थिए । वातावरण दिवसको उपलक्ष्यमा दुधौली नगरपालिकाले सञ्चालन गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वृक्षरोपण गरिएको हाे । यो भन्दा अगाडि त्यस अभियान अन्तर्गत नगरपालिकामा सरसफाई गरिएको थियो।
“हामीले विगतदेखि नै वृक्षरोपणलाई महत्व दिइराखेका छौँ । रुखहरु मानव जीवनसँग जन्मदेखि मृत्युसम्म सँगै हुन्छन् । रुखले हामीलाई अक्सिजन दिन्छ, भूक्षय रोक्छ, र जलवायु परिवर्तनको असर पनि न्युनीकरण गर्छ। त्यसैले हामीले वृक्षरोपण गरेका हौँ,“ नगरप्रमुख दिनेश अधिकारी भन्छन्।
नगरपालिका नजिकै सडकका दुई किनारमा यी रुख रोपिएका हुन्। “यसैगरी यो वृक्षरोपणको काम अघि बढाउने र सबै सरोकारवालासँग मिलेर हरियाली दुधौली बनाउने हामीलाई रहर छ,“ नगरपालिकाकी कृषि अधिकृत सीता खतिवडा भन्छिन् ।
वातावरण संरक्षण सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले वृक्षरोपण गरिएको चुरे उत्थानशीलता आयोजनाका सिन्धुली प्रदेश संयोजक राम बालक यादवले बताएका छन् । “नगरपालिकासँगको सहकार्यमा हामीले वृक्षरोपण गरेका छौँ। नगरपालिकाका बढि भन्दा बढि मानिसलाई संरक्षणको सन्देश दिने हाम्रो उद्देश्य हो,” यादव भन्छन् । चुरे उत्थानशील आयोजनाले यो वृक्षरोपणका लागि बिरुवा उपलब्ध गराएको हो।
चुरे उत्थानशील आयोजनाले चुरे क्षेत्रका २६ वटा नदी प्रणालीमा जलवायु उत्थानशीलको वृद्धि गर्ने उद्देश्यले विभिन्न कार्य गर्दै आएको छ । वातावरण संरक्षण तथा जलवायु उत्थानशीलतामा चुरे उत्थानशील आयोजनाको निरन्तर कार्य अन्तर्गत वृक्षरोपण गरिएको हो । चुरे उत्थानशील आयोजनाले आफ्नो कार्यक्षेत्रमा नर्सरी स्थापना तथा वृक्षरोपण गर्दै आएको छ । हाल सिन्धुली प्रदेशमा आयोजनाको १ ठुलो वन नर्सरी र १४ साना कृषि वन (नीजि) नर्सरी गरेर १५ वटा नर्सरी रहेका छन् ।
यी नर्सरीमा कूल डेढलाख भन्दा बढी बिरुवा रहेका छन्, जसमध्ये रैथाने प्रजातिलाई प्राथमिकता दिइएको छ बिरुवा रोप्न चाहने मानिसलाई यी बिरुवा निःशुल्क वितरण गरिनेछन् ।