भक्तपुर। “माटोदेखि सफलतासम्म” भन्ने मूल नाराका साथ स्थापित राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको दोस्रो वार्षिक साधारण सभा मिति २०८२ पौष २९ गते मंगलबार भक्तपुरस्थित ह्वाइट प्यालेस ब्याङ्क्वेट, कौशलटारमा भव्य रूपमा सम्पन्न भएको छ।
सभाबाट कम्पनीले प्रस्तुत गरेका सबै प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएको कम्पनी सचिव विष्णु बरालले जानकारी दिनुभयो। सभाको अध्यक्षता कम्पनीका कार्यकारी अध्यक्ष विशाल हुमागाईंले गर्नुभएको थियो।
सभामा कम्पनीका सञ्चालकहरू मैयाँ दुलाल, सुदिप सापकोटा, स्वतन्त्र सञ्चालक कवि पुडासैनी, कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता भीमसेन बञ्जारा सहभागी हुनुहुन्थ्यो।
त्यसैगरी सहायक कम्पनीहरूबाट आर.के.सी.एन.एल. आईटेक लिमिटेडका प्रबन्ध सञ्चालक मोहन प्रसाद तिमल्सिना, अलकापुरी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष दीपक लामिछाने, मसरुम हेभेन एग्रो टुरिज्म एण्ड कल्टिभेसन कम्पनी प्रा.लि.का प्रबन्ध सञ्चालक रविन्द्र कुमार पजियार, कम्पनीको एसोसिएट संस्था ईनर्जी ईक्विटी फण्ड लिमिटेडका अध्यक्ष समुद्र काजी श्रेष्ठ, तथा ग्लोबल आईएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलको उपस्थिति रहेको थियो।
कार्यकारी अध्यक्ष हुमागाईंले सञ्चालक समितिको प्रतिवेदनसहित वार्षिक तथा वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
प्रतिवेदनमाथि छलफलपछि सभाले वार्षिक प्रतिवेदनसहित सबै साधारण प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ।
बाटो खुल्यो आईपीओ निष्कासनको लागि
सभाको विशेष प्रस्तावका रूपमा कम्पनीले साधारण शेयर (IPO) निष्कासन सम्बन्धी प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित गरेको छ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड नियुक्त भइसकेकाले अब आईपीओ निष्कासन प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने मार्ग प्रशस्त भएको छ।
करिब ४ हजार संस्थापक शेयरधनीहरूको लगानी रहेको यस कम्पनीले छोटो अवधिमै कृषि क्षेत्रको एक अग्रणी संस्थाका रूपमा आफ्नो पहिचान स्थापित गरेको जनाएको छ।
नाफामा कम्पनी, नेटवर्थ एकसय बाह्र प्रतिशत
सभामा शेयरधनीहरूको जिज्ञासाको जवाफ दिँदै कार्यकारी अध्यक्ष हुमागाईंले शेयरधनीहरूको अपेक्षा अनुरूप कम्पनीलाई अघि बढाउने, व्यवसाय विस्तार गर्ने र लगानीमा उच्च प्रतिफल सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कम्पनी हाल नाफामा सञ्चालनमा रहेको र यसको नेटवर्थ करिब ११२ प्रतिशत पुगेको जानकारी पनि सभामा दिइयो।
कृषि पूर्वाधार विस्तार तीव्र
कम्पनीका अनुसार सर्लाहीको लालबन्दीमा दैनिक करिब १,५०० केजी डल्ले च्याउ उत्पादन क्षमता भएको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ। साथै, सोही क्षेत्रमा वार्षिक करिब २० लाख टन कम्पोस्ट मल उत्पादन क्षमताको प्लान्टको शिलान्यास भई निर्माण कार्य सुरु भइसकेको छ।
त्यसैगरी काभ्रेको पनौती नगरपालिका–४ मा मिनिमार्ट तथा ओजोन वासिङ प्रविधियुक्त कृषि उपज प्रशोधन केन्द्रको संरचना निर्माण अन्तिम चरणमा पुगेको र आगामी महिनाबाट सञ्चालनमा ल्याइने जानकारी दिइएको छ।