काठमाडौं। नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ र युएस नेपाल क्लाइम्बर्स एसोसिएसन इन्कको संयुक्त आयोजनामा सञ्चालन हुँदै आएको स्वर्गीय तेन्जिङ नोर्गे स्मृति खुला आरोहण प्रतियोगिता–२०२६ को मिति परिवर्तन गरिएको छ ।
यसअघि जनवरी २९, २०२६ मा आयोजना गर्ने तय भएको प्रतियोगिता विशेष कारणवश आगामी मे २९, २०२६ मा आयोजना गरिने भएको आयोजकले जनाएको छ । आइतबार काठमाडौंस्थित क्रिम्पान्जी एडभेन्चर हबमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक संस्थाले प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो ।
सगरमाथाका प्रथम सफल आरोही तथा विश्वभरका पर्वतारोहण पेशाकर्मीहरूका लागि प्रेरणाका स्रोत स्वर्गीय तेन्जिङ नोर्गे शेर्पाको स्मृतिमा विगत दुई वर्षदेखि यो प्रतियोगिता आयोजना हुँदै आएको छ । नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ र युएस नेपाल क्लाइम्बर्स एसोसिएसन इन्कले संयुक्त रूपमा साहसिक खेल अन्तर्गत आरोहण प्रतियोगिता आयोजना गर्दै नेपालमा विकासोन्मुख खेल आरोहण संस्कृतिको प्रवद्र्धन गर्दै आएका छन् ।
आयोजकका अनुसार स्वर्गीय तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा विजय गरेको ऐतिहासिक दिन सन् १९५३ मे २९ को सम्मानस्वरूप यसवर्ष प्रतियोगिता मे २९ मा आयोजना गर्ने निर्णय गरिएको हो । आगामी वर्षहरूदेखि भने प्रतियोगिता पूर्वनिर्धारित मिति जनवरी २९ मै आयोजना गरिने आयोजकले जनाएको छ ।
उहाँको अतुलनीय साहस, योगदान र ऐतिहासिक उपलब्धिको सम्मानस्वरूप सोहीदिन प्रतियोगिता आयोजना गर्नु सबै दृष्टिले अर्थपूर्ण र उपयुक्त हुने आयोजक समितिले जनाएको छ ।
स्वर्गीय तेन्जिङ नोर्गे स्मृति खुला आरोहण प्रतियोगिता नेपाली साहसिक खेल, खेल आरोहण संस्कृतिको विकास तथा युवा पुस्तालाई पर्वतारोहणतर्फ प्रेरित गर्ने उद्देश्यका साथ सञ्चालन हुँदै आएको महत्वपूर्ण कार्यक्रम हो।
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सम्बन्धित सरकारी निकाय, सरोकारवाला संघ–संस्था, प्रायोजक, सञ्चारमाध्यम तथा व्यक्तिगत तहबाट समेत आवश्यक सहयोग, सहकार्य र सकारात्मक प्रतिक्रिया प्राप्त हुने आयोजकले जनाएको छ।