काठमाडौँ। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शुक्रबार १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) को औपचारिक उद्घाटन गरेका छन्। तीन दिने प्रतियोगिताका खेल भने बिहिबार नै सुरु भएको थियो । पहिलो दिन बोर्ड बे्रकिङमा २२ स्वर्ण पदकको छिनोफानो पनि भइसकेको छ ।
आइओएफटिसी नेपालको आयोजनामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबार क्यारुगी (फाइट) र पुम्से (फर्म) विधा अन्तर्गत विभिन्न इभेन्टमा प्रतिस्पर्धा भए। शनिबार प्रतियोगिताको समापन हुनेछ।
प्रतियोगताका अन्तर्राष्ट्रय संयोजक तथा अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्काले शुक्रबार पुम्सेका सबै इभेन्ट सकिएको जानकारी दिए । उनका अनुसार क्यारुगीमा पनि १४ वर्षमुनिका सबै प्रतिस्पर्धा सकिएको छ । प्रतियोगितामा दुई सय स्वर्ण, दुई सय रजत र चार सय काश्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ ।
बक्सर चन्द्रबहादुर सम्मानित:
आयोजक आइओएफटिसी नेपालले शुत्रबार उद्घाटन समारोहमा बक्सर चन्द्रबहादुर थापालाई सम्मान गरेको छ । खेलकुद मन्त्री गुप्ताले चन्द्रबहादुरलाई २५ हजार नगदसहित सम्मानित गरे ।
बक्सर थापाले गत हप्ता संयुक्त अरब इमिरेट्सको दुबईमा भएको आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपअन्तर्गत ५४ केजी तौलसमूहमा कांस्य पदक जितेका थिए। चन्द्र विश्व बक्सिङ च्यमिम्पयनसिपमा पदक जित्ने पहिलो नेपाली हुन्।
यसैगरी प्रतियोगिताको उद्घाटन कार्यक्रममा मन्त्री गुप्ताले तेक्वान्दो तथा खेलकर्मीलाई सम्मान पनि गरे। आइओएफटिसी नेपालले २६ जनालाई सम्मानित गरेको हो।