धनगढी । नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशको छैटौँ अधिवेशन तथा उद्घाटन समारोह सुदूरपश्चिम प्रदेश अध्यक्ष भूपेन्द्र थापाको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा सामाजिक विकास समितिका अध्यक्ष माननीय धर्मराज पाठक प्रमुख अतिथि तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका सचिव शंकर शाह विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
उद्घाटन समारोहका अवसरमा दुग्ध क्षेत्रको विकासमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरूलाई विशेष उपहार प्रदान गरिएको थियो। उद्घाटनपछि बन्दसत्र कार्यक्रम सञ्चालन गरिएको थियो। सो बन्दसत्रबाट भूपेन्द्र थापाको अध्यक्षतामा नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशको नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन भएको छ।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष कर्ण हमाल, प्रदेशका पदाधिकारी तथा सदस्यहरू, साथै सुदूरपश्चिम प्रदेशका डेरी उद्योगीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि धर्मराज पाठकले नेपाल डेरी एसोसिएसनले दुग्ध क्षेत्रमा पुर्याएको अमूल्य योगदानको प्रशंसा गर्नुभयो। उहाँले सुदूरपश्चिम प्रदेशमा बजारको अभाव रहेको उल्लेख गर्दै बजार विस्तारतर्फ विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
विशिष्ट अतिथि सचिव शंकर शाहले नेपाल डेरी एसोसिएसनले केन्द्रदेखि प्रदेशसम्म आफ्नो संस्थागत विस्तार गरी दुग्ध क्षेत्रको प्रवर्धन र विकासमा राम्रो काम गरेको धारणा व्यक्त गर्नुभयो। उहाँले सुदूरपश्चिमको समग्र दुग्ध क्षेत्रको विकासका लागि दुग्ध पदार्थको विविधीकरण गर्नुपर्ने, नयाँ बजारको खोजी गरी बजार सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।
नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष कर्ण हमालले नजिकिँदै गरेको राष्ट्रिय महाधिवेशन आगामी माघ ६ र ७ गते काभ्रेको शंखुस्थित रैथाने भिल्लामा, एसोसिएसनको स्थापना दिवसकै अवसरमा सम्पन्न हुन गइरहेको जानकारी गराउँदै सुदूरपश्चिम प्रदेशका सम्पूर्ण सदस्यहरूलाई सहभागिताका लागि आह्वान गर्नुभयो। उहाँले एसोसिएसनकै माध्यमबाट डेरी क्षेत्रका व्यवसायीहरूबीच आपसी चिनजान, एकता र समस्या समाधानका लागि संस्थागत थलो बनेको उल्लेख गर्दै सुदूरपश्चिममा सबै एकजुट भई दुग्ध क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो।
नवनिर्वाचित अध्यक्ष भूपेन्द्र थापाले आफूलाई पुनः अध्यक्षमा चयन गरेकोमा सम्पूर्ण सदस्यहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा आफ्ना सबै क्रियाकलाप अर्थपूर्ण बनाउने, सबैलाई एकजुट गरी सुदूरपश्चिम प्रदेशको दुग्ध क्षेत्र विकासका लागि सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै शपथ ग्रहण गराइएको थियो। सो कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालको उपस्थिति रहने कार्यक्रम भए पनि प्रतिकूल मौसमका कारण उहाँ उपस्थित हुन नसकी शुभकामना सन्देश पठाउँदै प्रदेशको साधारण सभाको सफलताको कामना गर्नुभएको थियो।
कार्यक्रममा वक्ताहरूले नेपाल डेरी एसोसिएसनले सञ्चालन गर्दै आएको गतिविधि, विशेषगरी “मोहीअभियान” लगायतका कार्यक्रमहरूको खुलेर प्रशंसा गरेका थिए। साथै आगामी दिनमा सुदूरपश्चिम प्रदेशमा डेरी क्षेत्रको विकासका लागि सबै सरोकारवाला एकजुट भएर अघि बढ्नुपर्नेमा सबैको साझा आवाज रहेको थियो।