काठमाडौं । नेपाल डेरी एसोसिएशन, बागमती प्रदेशको सातौँ वार्षिक साधारणसभा शुक्रबार ललितपुरमा सम्पन्न भएको छ। महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी भेन्यूमा आयोजित साधारणसभामा बागमती प्रदेशअन्तर्गतका डेरी उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
बिहान १०:३० बजेबाट सुरु भएको साधारणसभामा संघको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक विवरण प्रस्तुत तथा अनुमोदन गरिएको छ। साथै डेरी क्षेत्रको वर्तमान अवस्था, कच्चा दूधको मूल्य, उत्पादन लागत, बजार व्यवस्थापन, नीतिगत समस्या तथा समाधानका उपायबारे विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ।
साधारणसभामा सहभागी वक्ताहरूले डेरी उद्योगको संरक्षण र प्रवर्द्धनका लागि सरकारी तहबाट थप सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए। उनीहरूले डेरी व्यवसायीहरूले भोग्दै आएका चुनौती समाधान गर्न संघले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा संघका केन्द्रीय तथा प्रदेशस्तरीय पदाधिकारीहरूले आगामी कार्ययोजना प्रस्तुत गर्दै डेरी क्षेत्रको दिगो विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा संगठन सुदृढीकरणमा जोड दिने प्रतिबद्धता जनाए।
नेपाल डेरी एसोसिएशनले डेरी उद्योगको विकास र व्यवसायीहरूको अधिकार सुनिश्चित गर्न निरन्तर क्रियाशील रहँदै आएको छ। बागमती प्रदेशको सातौँ वार्षिक साधारणसभाले आगामी दिनमा प्रदेशस्तरमा डेरी व्यवसायलाई थप व्यवस्थित र सशक्त बनाउने दिशामा महत्वपूर्ण निर्णयहरू गरेको संघले जनाएको छ।