चितवन, निराज रानाभाट।
कृषि क्षेत्रको आधुनिकीकरण र नवीन प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित आठौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी–२०८२ माघ २, ३ र ४ गते चितवनमा आयोजना हुने भएको छ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा भरतपुर महानगरपालिका–१० स्थित चितवन एक्स्पो सेन्टरमा प्रदर्शनी आयोजना गर्न लागिएको हो।
प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका कृषि सम्बन्धी कम्पनी तथा व्यवसायीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। एक सयभन्दा बढी स्टलमार्फत कृषि उद्यम, प्रविधि र सेवाहरू प्रदर्शनीमा प्रस्तुत गरिनेछन्।
प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई/भैंसी पालन, कृषि मेसिनरी तथा उपकरण, भेटेरिनरी सेवा, पशु स्वास्थ्य, डेरी, खाद्य प्रविधि, कीटनाशक, मल, बीउबिजन, कृषि तालिम तथा वित्तीय सेवासम्बन्धी जानकारी प्रदान गरिनेछ। अवलोकनकर्ताले आफ्नो आवश्यकता र चासोअनुसार स्टलहरूमा पुगेर जानकारी लिन सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ। यसलाई ‘प्रदर्शनीभित्रको प्रदर्शनी’को रूपमा समेत लिइएको छ।
आयोजकका अनुसार प्रदर्शनीले कृषि कर्मलाई सहज, किफायती र प्रविधिमैत्री बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ। साथै, यसले नेपालको कृषि यान्त्रीकीकरणमा टेवा पुग्ने, उपयुक्त नवीन प्रविधि तथा सेवाको पहिचान गर्न मद्दत गर्ने र उत्पादन वृद्धि हुँदै कृषि आत्मनिर्भरतामा योगदान पुग्ने विश्वास आयोजकको छ।
प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। देशभरबाट बढीभन्दा बढी कृषक, उद्यमी तथा सरोकारवालाको सहभागिता गराउने लक्ष्य आयोजकले लिएको छ।
प्रदर्शनीमा अगुवा किसान, स्थानीय तहका जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी निकाय, नीति निर्माता, व्यवसायी, आयातकर्ता–निर्यातकर्ता, बैंक तथा वित्तीय संस्था, अनुसन्धानकर्ता, शिक्षक–विद्यार्थी तथा शिक्षण संस्थाहरूको उल्लेख्य उपस्थिति रहनेछ।
प्रदर्शनीको प्रवर्द्धकका रूपमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ। सहकार्य गर्ने संस्थाहरूमा राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय महासंघ लिमिटेड, राष्ट्रिय कृषक समूह महासंघ नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ तथा चितवन उद्योग संघ रहेका छन्।
