काठमाडौँ । साधारण शेयरधनीहरूलाई अधिकतम ३५ प्रतिशतसम्म लाभांश वितरण गरेको एनएमबि बैंकले आठ दशमलव २५ प्रतिशत निश्चित लाभांश दर रहने गरी अविमोच्य असञ्चिति अग्राधिकार शेयर विक्री गर्दै छ ।
यस बैंकले प्रतिशेयर सय रुपैयाँ अंकित मूल्यमा तिन करोड कित्ता ‘एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार शेयर आब २०८१/८२ –८.२५ प्रतिशत’ परिपत्र विधिबाट विक्री गर्न पुस ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
एनएमबि बैंकको यो शेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यस्तो शेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउने व्यवस्था छ ।
नेपाल राष्ट्र बैंकले गत असार १२ गते सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा बैंक तथा वित्तीय संस्थालाई पूँजीकोष सबलीकरणका लागि अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न सक्ने व्यवस्था गरेको थियो । त्यसपछि बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका संशोधन गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका बैंक तथा वित्तीय संस्थालाई मात्र यस्तो किसिमको शेयर निष्कासनका लागि अनुमति प्रदान गर्ने व्यवस्था गरेको हो ।
हालसम्म बोर्डले एनएमबि बैंकसँगै नबिल बैंक र कामना सेवा विकास बैंक गरी तीन कम्पनीलाई यस्तो शेयर विक्री गर्न अनुमति दिएको छ।
अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्कासनबाट बैंक तथा वित्तीय संस्थालाई दबाब परेको समयमा पूँजीगत संरचना सुदृढ बनाउने र लगानीको नयाँ उपकरण उपलब्ध हुने विश्वास बोर्डको छ । यस्ता शेयर धारण गर्ने लगानीकर्ताहरूका लागि कम्पनीले वितरणयोग्य मुनाफा आर्जन गरेको वर्षमात्र लाभांश पाउनेछन् ।
यस्ता प्रकारको शेयरको भुक्तानी अवधि नतोकिएको तर निश्चित प्रतिशतको लाभांश दर प्रदान गर्न सक्ने विशेषता हुन्छ ।
अविमोच्य असञ्चिति अग्राधिकार शेयरमा ऋणपत्रको समेत विशेषता रहन्छ । ऋणपत्रका लागि तोकिएको ब्याजदर ब्याजका रूपमा वितरण गरिन्छ भने यस्ता प्रकारको शेयरमा तोकिएको निश्चित ब्याजदर लाभांशका रूपमा वितरण गरिन्छ । यो शेयर दोस्रो बजारमा सूचीकरण हुने हुँदा संस्थागत लगानीकर्ताले दोस्रो बजारमा समेत कारोबार गर्न सक्नेछन् । कम्पनीले यस्तो शेयरका लागि तोकिएको निश्चित लाभांश वितरण गरिसकेपछि बाँकी शेयरधनीलाई लाभांश वितरण गरिन्छ ।
अग्राधिकार शेयरका लागि निश्चित लाभांश दर हुन्छ भने बाँकी शेयरधनीलाई अग्राधिकार शेयरधनीको भन्दा बढी वा घटी हुन सक्नेछ । एनएमबि बैंकले साधारण शेयरधनीमा अग्राधिकार शेयरमा तय गरिएको निश्चित ब्याजदरभन्दा बढी लाभांश वितरण गर्दै आएको छ । अग्राधिकार शेयरधनीका लागि तय गरिएको लाभांश जतिकै लाभांश भने साधारण शेयरधनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गरिएको देखिन्छ । त्यसबाहेकका वर्ष भने यस बैंकले बढी नै लाभांश वितरण गरेको तथ्याङ्क छ ।
पछिल्लो १० वर्षको लाभांश इतिहासलाई हेर्दा कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सबैभन्दा बढी ३५ प्रतिशत लाभांश वितरण गरेको थियो । गतवर्षको मुनाफाबाट भने कम्पनीले ५ प्रतिशत बोनस शेयर र करसहित ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पुस २४ गते वार्षिक साधारणसभामार्फत पारित हुनेछ ।