२७औं वर्षमा पर्यटन बोर्ड : नेपाल–आसियान पर्यटन वर्ष २०२६ घोषणा


काठमाडौं। नेपाल पर्यटन बोर्ड (एनटीबी) ले आफ्नो २७औं स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ ।

बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपक राज जोशीले स्वागत मन्तव्यका क्रममा आसियान मुलुकलाई नेपालका लागि उच्च सम्भावनायुक्त बजारका रूपमा प्रस्तुत गर्दै सन् २०२६ लाई लक्षित विशेष रणनीति सार्वजनिक गरेका हुन् ।

सीईओ जोशीका अनुसार हालसम्म १ लाख ७ हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भित्रिसकेका छन्, जुन नेपालका लागि ठूलो र दीर्घकालीन बजार हो । ‘बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक पर्यटन, वेलनेस र आयुर्वेद, संस्कृति तथा समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपाललाई सशक्त रूपमा स्थापित गरिनेछ,’ उनले भने ।

कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन समारोहका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हा तथा विशिष्ट अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ रहेका छन् ।

सीईओ जोशीले सन् २०२५ मा ११ लाख ६० हजार पर्यटक नेपाल भित्रिने अनुमान गरिएको जानकारी दिँदै यो संख्या गत वर्षको तुलनामा करिब ३ प्रतिशतले वृद्धि भएको बताएका छन् । उनका अनुसार सन् २०२५ भित्र ३१ वटा टुरिजम मार्ट, १२ वटा ब्रान्डिङ तथा कर्पोरेट गतिविधि, २० भन्दा बढी कार्यक्रम सम्पन्न भएका छन्।

उनले जेन्जी आन्दोलनपछिको अवधिमा ८ ओटा मुख्य पर्यटकीय गन्तव्यबाट लाइभ प्रसारणमार्फत पर्यटन प्रवर्द्धन, ९ भाषामा यात्रा सूचना प्रकाशन, ६९ ओटा पर्यटन पूर्वाधार विकास, तथा पूर्वदेखि सुदूरपश्चिमसम्म ४१ ओटा कार्यक्रम तथा विकास गतिविधि सञ्चालन गरिएको जानकारी समेत दिएका छन् ।

‘पर्यटन केवल एउटा कोर सेक्टर मात्र नभएर बहु–क्रस सेक्टर क्षेत्र हो,’ जोशीले भने । सन् २०२५ मा विभिन्न क्षेत्रका २ हजार ६ सय पेशागत जनशक्ति तालिम प्रदान गरेको जानकारी दिँदै सीईओ जोशीले नीतिगत तहका अनुसन्धान, बजार–आधारित अध्ययन र सस्टेनेबल टुरिजम प्रोजेक्ट अन्तर्गत कञ्चनजंघा, मनास्लु र अपी–साइपालका तीन प्रमुख ट्रेकिङ ट्रेलमा सम्भावना पहिचान, गुणस्तर अभिवृद्धि, रोजगारी र बजार सिर्जनामा काम भइरहेको जानकारी गराएका छन् ।

एनटीबीले सन् २०२६ लाई परिभाषित गर्ने ७ प्रमुख यात्रा प्रवृत्ति पनि सार्वजनिक गरेको छ, जसमा शोरभन्दा शान्ति, प्रशासनमा जेन–एआई, छनोटभन्दा विश्वास, हवाईमार्गभन्दा सडक, एकै ढाँचाभन्दा अत्यधिक व्यक्तिगत अनुभव, परीक्षण गरिएकाभन्दा अफ–ग्रिड गन्तव्य, र संस्कृति प्राथमिकतामा रहने उल्लेख छ ।

आगामी मार्गचित्र प्रस्तुत गर्दै जोशीले २०२६–२०३५ रणनीतिक कार्ययोजना, सहभागितामूलक दृष्टिकोण, डिजिटल–प्रेरित व्यावसायिकता, नवप्रवर्तनशील नीति र अभ्यासको समन्वय, स्थानीय र वैश्विक अनुभवको मिश्रण, अनुत्पादक कार्यक्रम हटाउने तथा उच्च मूल्य पर्यटनमा केन्द्रित हुने स्पष्ट गरेका छन् ।

त्यसैगरी बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले बोर्डले नतिजा दिने गरी काम भइरहेको उल्लेख गर्दै निजी क्षेत्र र सरकारसँग समन्वय हुने गरी कार्यक्रमहरु केन्द्रित गरिएको जानकारी गराएका छन् ।