प्रेम पाैडेल। इतिहासले बारम्बार प्रमाणित गरेको सत्य के हो भने नयाँ विचार, नयाँ खोज वा नयाँ राजनीतिक शक्तिलाई समाजले सहजै स्वीकार गर्दैन। परिवर्तन सधैँ प्रतिरोधसहित आउँछ। स्थापित संरचना, शक्ति र सोचले आफूलाई चुनौती दिने कुनै पनि नयाँ सम्भावनालाई पहिला शंकाको दृष्टिले हेर्छ, त्यसपछि आरोप लगाउँछ, बदनाम गर्छ र सकेसम्म दबाउने प्रयास गर्छ। तर समयको कसौटीमा टिक्ने कुरा अन्ततः सत्य र आवश्यकताले तय गर्छ, न कि शक्तिको हल्लाले।
वैज्ञानिक इतिहास यसैको सशक्त उदाहरण हो। निकोलस कोपरनिकसले पृथ्वी सूर्यको परिक्रमा गर्छ भन्ने मान्यता अघि सारेपछि मानव सभ्यताको सोच नै हल्लियो। पछि ग्यालिलियो ग्यालिलिले टेलिस्कोपको प्रयोगमार्फत उक्त मान्यतालाई वैज्ञानिक रूपमा प्रमाणित गर्दा पनि तत्कालीन धार्मिक सत्ता र समाजले त्यसलाई स्वीकार्न सकेन। उल्टै उनलाई धर्मविरोधी ठहर गरियो, अदालतमा उभ्याइयो, आफ्ना विचार फिर्ता लिन बाध्य पारियो र जीवनको अन्त्यसम्म नजरबन्दमा राखियो। तर सत्ता र धर्मको दबाबले सत्यलाई सदाका लागि दबाउन सकेन। आज सम्पूर्ण विश्वले पृथ्वी गोलो छ र सूर्यको परिक्रमा गर्छ भन्ने तथ्य निर्विवाद रूपमा स्वीकार गरेको छ।
यो उदाहरण केवल विज्ञानसँग सीमित छैन। राजनीति, समाज र विचारको इतिहास पनि यस्तै प्रक्रियाबाट गुज्रिएको छ।
नेपालको राजनीतिक इतिहास हेर्दा पनि परिवर्तनका हरेक चरणमा नयाँ शक्तिलाई पुराना शक्तिले कसरी शत्रु ठहर गरे भन्ने स्पष्ट देखिन्छ। आज “स्थापित शक्ति” भनेर चिनिने कांग्रेस र कम्युनिस्ट आन्दोलनहरू पञ्चायती शासनकालमा राष्ट्रविरोधी, अराजक र विदेशी एजेन्टका रूपमा चित्रित गरिएका थिए। प्रतिबन्ध, जेल, यातना र निर्वासन ती आन्दोलनका सामान्य अनुभव थिए। त्यही राज्यसत्ताले जनतालाई चेतावनी दिँदै भनिन्थ्यो, यी शक्तिहरू देशका लागि खतरा हुन्।
पछि जनयुद्धकालमा माओवादी आन्दोलनलाई आतंककारी घोषणा गरियो, नेताहरूको टाउकोको मूल्य तोकियो र संवादभन्दा दमनलाई प्राथमिकता दिइयो। तर इतिहासले फेरि एकपटक देखायो—दमनले विचारलाई मार्न सक्दैन। ती सबै राजनीतिक धाराहरूको योगदानबाट नै प्रजातन्त्र पुनःस्थापना भयो, समावेशी प्रतिनिधित्वको बहस अघि बढ्यो र अन्ततः गणतन्त्र स्थापना सम्भव भयो। जुन शक्तिहरूलाई कहिले राष्ट्रघाती भनियो, तिनै शक्ति इतिहासका निर्णायक पात्र बने।
आजको सन्दर्भमा पनि यही चक्र दोहोरिँदैछ। नयाँ पुस्ता र नयाँ राजनीतिक विकल्पहरूले पुराना शक्ति संरचनामाथि प्रश्न उठाइरहेका छन्। यसैको प्रतिक्रियास्वरूप “भू–राजनीतिक खेल”, “विदेशी डिजाइन”, “अदृश्य शक्ति” जस्ता शब्दहरू व्यापक रूपमा प्रयोग भइरहेका छन्। यस्ता आरोपहरू तथ्यभन्दा बढी भय र असुरक्षाबाट जन्मिएका देखिन्छन्।
यदि साँच्चै विदेशी चलखेल र भू–राजनीतिक दबाब आज गम्भीर रूपमा बढेको हो भने, प्रश्न उठ्छ। राज्यसत्तामा दशकौँसम्म बसेका पुराना शक्तिहरूले किन रोक्न सकेनन्? किन उनीहरूको अनुभव, कूटनीति र परिपक्वताले देशलाई सुरक्षित बनाउन सकेन? दोष सधैँ नयाँ पुस्तामाथि थोपर्ने तर आफ्ना असफलतामाथि आत्मसमीक्षा नगर्ने प्रवृत्तिले विश्वास पैदा गर्दैन।
प्रजातन्त्र पुनःस्थापनापछिका करिब ३५ वर्षमा बहुमत र दुई–तिहाइ बहुमतसहित सरकार सञ्चालन गर्ने अवसर पटक–पटक प्राप्त भयो। तर पनि देश किन अपेक्षाअनुसार समुन्नत बन्न सकेन? किन जनताको जीवनस्तरमा मौलिक परिवर्तन आएन? किन भ्रष्टाचार, कुशासन र असमानता ज्यूँका त्यूँ रहे? किन लाखौँ नेपाली स्वदेशमै सम्मानजनक श्रम र भविष्य नदेखेर विदेशिन बाध्य भए? यी प्रश्नहरूको जवाफ नयाँ पुस्ताले होइन, सत्ता सञ्चालन गर्नेहरूले दिनुपर्ने हो।
नयाँ पुस्तालाई अविश्वासी, अपरिपक्व वा विदेशी प्रभावमा परेको भन्दै खारेज गर्नु समस्या समाधान होइन। बरु यो आफ्नै असक्षमता ढाक्ने सजिलो उपाय हो। समाज परिवर्तनको प्रक्रियामा पुस्तान्तरण अपरिहार्य हुन्छ। अनुभव पुरानासँग हुन्छ, ऊर्जा नयाँसँग। यी दुईबीच द्वन्द्व होइन, सहकार्य आवश्यक हुन्छ।
प्रकृतिले पनि यही पाठ सिकाउँछ। पुराना पात झर्नु र नयाँ पालुवा पलाउनु प्राकृतिक नियम हो। जुन रुखमा पुराना पहेँला पात मात्र टाँसिएर बस्छन् र नयाँ पालुवा पलाउन दिइँदैन, त्यो रुख अन्ततः सुक्छ। तर त्यही सुक्खा रुखको मलबाट नयाँ बिरुवा हर्लक्क बढ्छ। परिवर्तनलाई रोकेर होइन, स्वीकारेर मात्रै जीवन अघि बढ्छ।
त्यसैले आजको आवश्यकता नयाँलाई पुरानाले सराप्ने र पुरानालाई नयाँले गाली गर्ने होइन। आवश्यक छ, विनम्रता, आत्मसमीक्षा, सुधार र पारस्परिक सम्मान। पुरानाले आफ्नो अनुभव साझा गर्नुपर्छ, नयाँले प्रश्न सोध्न र विकल्प दिन पाउनुपर्छ। यही साझा यात्राबाट मात्र सुदृढ राजनीतिक संस्कार विकास हुन्छ र समुन्नत, सबल नेपालको सपना यथार्थमा बदलिन सक्छ।
परिवर्तन रोकिँदैन, तर परिवर्तनलाई सही दिशामा डो-याउने जिम्मेवारी सबै पुस्ताको साझा हो। इतिहास अन्ततः आरोप होइन, योगदान सम्झिन्छ।