काठमाडौं। नागरिक लगानी कोषका सहभागी, सेयरधनी तथा कर्मचारीहरूले अब चितवनस्थित मौलाकालिका अस्पताल प्रा.लि.बाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवामा बिस प्रतिशत छुट पाउने भएका छन्। नागरिक लगानी कोष र मौलाकालिका अस्पतालबीच सम्पन्न सहकार्य सम्झौताअनुसार यो सुविधा उपलब्ध गराइएको हो।
सो सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट निर्देशक शोभा श्रेष्ठ सुवेदी र मौलाकालिका अस्पतालका प्रबन्ध निर्देशक डा. केशवराज भुर्तेलले हस्ताक्षर गर्नुभएको हो। सम्झौतामार्फत दुबै संस्थाबीच आपसी सहकार्यलाई विस्तार गर्दै कोषका सहभागी तथा कर्मचारीहरूलाई सहज, गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखिएको जनाइएको छ।
सम्झौतापश्चात् अब नागरिक लगानी कोषका सदस्य, सहभागी, सेयरधनी तथा कर्मचारीहरूले मौलाकालिका अस्पतालमा उपलब्ध ओपीडी सेवा, भर्ना उपचार, प्रयोगशाला परीक्षण, चिकित्सकीय परामर्शलगायत सम्पूर्ण सेवामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। छुट सुविधा लिनका लागि नागरिक लगानी कोषद्वारा जारी गरिएको परिचयपत्र वा सहभागी कार्ड अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ।
नागरिक लगानी कोषले आफ्ना सहभागी तथा कर्मचारीहरूको सामाजिक सुरक्षा र स्वास्थ्य सुविधालाई प्राथमिकतामा राख्दै यस्ता सहकार्य कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ। यस किसिमका सम्झौताले कोषका सदस्यहरूलाई आर्थिक भार कम गर्नुका साथै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउने विश्वास गरिएको छ।
मौलाकालिका अस्पताल प्रा.लि. भरतपुर, चितवनमा अवस्थित एक प्रतिष्ठित स्वास्थ्य संस्था हो, जसले आधुनिक प्रविधि, दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीमार्फत सेवा प्रदान गर्दै आएको छ। अस्पताल व्यवस्थापनले कोषसँगको सहकार्यले सेवाग्राहीको संख्या वृद्धि हुनुका साथै सामाजिक उत्तरदायित्व पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
यस सहकार्यबाट नागरिक लगानी कोषका सहभागी, सेयरधनी तथा कर्मचारीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने र स्वास्थ्य सेवामा पहुँच अझ सहज हुने अपेक्षा गरिएको छ।