समुदायमै देखिन सक्ने जनस्वास्थ्यसम्बन्धी घटना तथा रोगहरूको समयमै पहिचान गरी तत्काल प्रतिकार्य गर्ने उद्देश्यका साथ “समुदायमा आधारित रोग निगरानी प्रणाली” को औपचारिक शुभारम्भ गरिएको छ। माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमज्यू ले एक विशेष कार्यक्रमका बीच उक्त प्रणालीको शुभारम्भ गर्नु भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा विकसित यस प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुर्याउने उद्देश्यले मन्त्रालयले तयार पारेको “समुदायमा आधारित रोग निगरानी निर्देशिका–२०८२” पनि सोही अवसरमा सार्वजनिक गरिएको छ। निर्देशिकाले समुदाय, स्वास्थ्य संस्था तथा सरोकारवाला निकायबीच समन्वय गरी रोग निगरानी र प्रतिकार्य प्रणालीलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।
शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका विभागका उच्च अधिकारीहरू, सातै प्रदेशका स्वास्थ्य सचिव तथा निर्देशकहरू, गाउँपालिका राष्ट्रिय महासंघका प्रतिनिधिहरू तथा विभिन्न विकास साझेदार संस्थाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले समुदायको सक्रिय सहभागिता बिना प्रभावकारी रोग निगरानी सम्भव नहुने भन्दै यस प्रणालीले देशको समग्र जनस्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।
संक्रामक रोगहरूको सम्भावित प्रकोपलाई न्यूनीकरण गर्ने उद्देश्यले सुरु गरिएको यस प्रणाली अन्तर्गत अब आम नागरिक स्वयं रोग निगरानी प्रक्रियाको महत्वपूर्ण हिस्सा बन्नेछन्। यदि समुदायमा एकै पटक धेरै व्यक्ति बिरामी परेमा, कुनै नौलो वा असामान्य रोग देखिएमा, पशु–पंक्षीको अस्वाभाविक मृत्यु भएमा, वा ज्वरो, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी समस्या जस्ता लक्षणहरू व्यापक रूपमा देखिएमा नागरिकले तुरुन्त जानकारी गराउन सक्ने व्यवस्था गरिएको छ।
यसका लागि नागरिकले निःशुल्क हटलाइन “हेलो स्वास्थ्य १११५” मा फोन गर्न वा नजिकैको स्वास्थ्य संस्थामा प्रत्यक्ष जानकारी गराउन सक्नेछन्। यसरी समुदायबाट प्राप्त प्रारम्भिक सूचनाका आधारमा सम्बन्धित निकायले तत्काल अनुसन्धान, परीक्षण, उपचार तथा आवश्यक प्रतिकार्यका कार्यहरू अघि बढाउने व्यवस्था मिलाइएको छ।
मन्त्रालयका अनुसार, समयमै सूचना प्राप्त हुन सकेमा सम्भावित महामारी फैलिनुअघि नै नियन्त्रण गर्न सकिने भएकाले यस प्रणालीले महामारी रोकथाम, जनधनको क्षति न्यूनीकरण तथा जनस्वास्थ्य सुरक्षा मा महत्वपूर्ण भूमिका खेल्नेछ। साथै, यसले समुदाय र स्वास्थ्य प्रणालीबीचको विश्वास र सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
सरकारले यस प्रणालीलाई दीर्घकालीन रूपमा सफल बनाउन स्थानीय तह, समुदाय, स्वास्थ्यकर्मी तथा नागरिक समाजको निरन्तर सहभागिता अपरिहार्य रहेको स्पष्ट पारेको छ। आगामी दिनमा यस प्रणालीलाई डिजिटल प्रविधिसँग थप जोड्दै देशभर प्रभावकारी रूपमा लागू गरिने योजना रहेको पनि मन्त्रालयले जनाएको छ।