काठमाडौं। मिलेनियम च्यालेन्ज अकाउन्ट नेपालअन्तर्गत दुई महत्वपूर्ण सडक आयोजनाका लागि सम्झौता भएको छ ।
सम्झौताअनुसार धान खोला–लमही सडक खण्ड स्तरोन्नति कार्यका लागि फुल डेप्थ रेक्लेमेसन तथा सुपरपेभ प्रविधि प्रयोग गरिनेछ । साथै, सोही सडक खण्डको स्तरोन्नति कार्यको सुपरीवेक्षणका लागि परामर्श सेवा र नारायणघाट–मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भारका लागि डिजाइन तथा निर्माण सुपरीवेक्षण सेवासम्बन्धी सम्झौता पनि गरिएको छ ।
सडक मर्मत आयोजनाअन्तर्गत सम्पन्न हुने यी परियोजनाले सडकको दिगो सुधार, यातायात सुरक्षामा वृद्धि तथा आवागमन सहज बनाउने अपेक्षा गरिएको छ । एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले धानखोला लमहीको ४० किमि क्षेत्रमा फुल डेप्थ रेक्लेमेसन टेक्नोलोजिबाट मर्मत गरिने जानकारी दिनुभयो।
कार्यकारी निर्देशक बिष्टका अनुसार त्यस निर्माण कार्यलाई सुपरभाइज गर्ने कन्सल्टिङ ठेक्का समेत गरिएको छ। त्यस कार्यसँग सम्बन्धी सम्झौता पत्र आदानप्रदान पनि गरिएको उहाँकाे भनाइ छ। यो सम्झौता दुई वर्षको हो। २४ महिनामा सबै काम सकिनुपर्ने बताइएकाे छ।
चाैविस महिनाभित्र धान खोला–लमही क्षेत्रको पूरै मर्मत कार्य सक्ने र मुग्लिन नारायणघाटको नयाँ प्रविधि अनुसार डिजाइन गरिनेछ ।
विष्टकाअनुसार धानखोला लमहीको मर्मतका लागि दुई करोड अमेरिकी डलर अर्थात् करिब तीन अर्ब लागत लाग्नेछ । त्यसको सुपरभिजन कन्सल्टिङ ठेक्काका लागि सैतिस लाख अमेरिकी डलर अर्थात् ५० करोड खर्च हुने अनुमान छ।
विष्टले पाँच वर्षको निर्धारित समयभित्रै परियोजना सक्नेगरी कामहरू अघि बढेको समेत बताउनु भयो ।
उहाँकाअनुसार दुई वर्ष चार महीना बितिसकेकाले बाँकी अवधीमा परियोजनाहरू सकिनेछ । एमसीए नेपालले समयमै परियोजनाहरू सकिने बताए पनि आयोजनाहरूको प्रगति हेर्दा निर्धारित अवधिमै सकिनेमा संशय कायमै छ ।