शुष्मा कोइराला मेमोरियल अस्पतालमा कर्मचारी आन्दोलनले गर्दा गम्भीर प्रशासनिक संकटमा,


काठमाडौं। शुष्मा कोइराला मेमोरियल अस्पतालमा गम्भीर प्रशासनिक संकट उत्पन्न भएको छ।

ट्रस्ट व्यवस्थापनको निरन्तर हस्तक्षेप, कर्मचारीमाथि दबाब तथा असुरक्षाको वातावरण सिर्जना भएको भन्दै अस्पतालका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।

अस्पतालमा गठन गरिएको संघर्ष समितिका अनुसार ट्रस्ट व्यवस्थापनले बारम्बार गरिएको ध्यानाकर्षण र वार्ताका प्रयासलाई बेवास्ता गर्दै गैरकानुनी गतिविधि सञ्चालन गरिरहेको छ। समितिले ट्रस्टको मनोमानी निर्णय र हस्तक्षेपका कारण अस्पतालको सेवा प्रवाहसमेत प्रभावित हुने जोखिम बढेको जनाएको छ।

संघर्ष समितिले केही दिनअघि आफ्ना मागहरू पूरा गर्न पाँच दिने अल्टिमेटम दिएको भए पनि ट्रस्ट व्यवस्थापनले कुनै पहल नगरेको आरोप लगाएको छ। उल्टै, कर्मचारीहरूमाथि कारबाही गर्ने धम्की दिइरहेको समितिको दाबी छ।

कर्मचारीहरूले सुरक्षित कार्य वातावरण, पारदर्शी प्रशासन र श्रम कानुनअनुसारको व्यवहारको माग गर्दै आन्दोलन सुरु गरेका हुन्। मागहरू सुनुवाइ नभए आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनीसमेत संघर्ष समितिले दिएको छ।

अस्पताल प्रशासन र ट्रस्ट व्यवस्थापनबीच देखिएको यो विवाद चाँडै समाधान नभए स्वास्थ्य सेवामा प्रत्यक्ष असर पर्ने कर्मचारीहरूको भनाइ छ। यस विषयमा ट्रस्ट व्यवस्थापनको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन।