आर्थिक समृद्धिसँगै बढ्दो मानसिक सन्ताप, ध्यान र योगको आवश्यकता झन् बढ्यो: स्वामी आनन्द अरुण


काठमाडौँ —
स्वामी आनन्द अरुणले आर्थिक समृद्धिसँगै मानिसहरूमा मानसिक सन्ताप बढ्दै गएको बताएका छन्। आइतबार राजधानीमा आयोजित दोस्रो विश्व ध्यान दिवस–२०२५ को मूल समारोहलाई सम्बोधन गर्दै उनले मानसिक स्वास्थ्य सन्तुलनका लागि ध्यान र योगको आवश्यकता अझ बढ्दै गएको उल्लेख गरे।

उनले विशेषगरी विकसित राष्ट्रहरूमा मानसिक समस्या गम्भीर बन्दै गएको भन्दै भौतिक सुविधा बढे पनि मानसिक शान्ति घट्दै जानु चिन्ताको विषय भएको बताए। “आर्थिक प्रगति मात्र पर्याप्त हुँदैन, आन्तरिक शान्ति र चेतनाको विकास बिना जीवन सन्तुलित हुँदैन,” उनले भने।

स्वामी अरुणका अनुसार ध्यान र योगले तनाव व्यवस्थापन, आत्मबोध र मानसिक स्वास्थ्य सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्छ। उनले दैनिक जीवनमा ध्यानको अभ्यासलाई प्राथमिकता दिन सबैलाई आग्रह गरे।

समारोहमा विभिन्न देशका ध्यान साधक, योग प्रशिक्षक तथा सरोकारवालाको सहभागिता रहेको थियो। विश्व ध्यान दिवसका अवसरमा ध्यान, योग र मानसिक स्वास्थ्यसम्बन्धी विविध कार्यक्रमहरू आयोजना गरिएको आयोजकले जनाएको छ।