काठमाडौं- पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा आगामी पुस १३ देखि १७ गतेसम्म २७औँ संस्करणको पोखरा सडक महोत्सव–२०८२ आयोजना हुने भएको छ।

अंग्रेजी नयाँ वर्ष जनवरी १ लाई लक्षित गर्दै रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा फेवाताल किनारको लेकसाइड क्षेत्रमा करिब ३.५ किलोमिटर लामो सडक खण्डमा महोत्सव सञ्चालन गरिनेछ।

महोत्सवका बारेमा जानकारी दिन काठमाडौंमा पनि पत्रकार सम्मेलन आयोजना गरिएको छ। सम्मेलनमार्फत आयोजकले राजधानीसहित देशभरका सञ्चारमाध्यमलाई महोत्सवका उद्देश्य, कार्यक्रम र पर्यटन प्रवर्द्धनमा यसको भूमिकाबारे जानकारी गराएका हुन्।

रेवान पोखराका संयोजक वसन्त गौतमले ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मूल नारासहित निरन्तर आयोजना हुँदै आएको महोत्सवले नेपाली खाना, संस्कृति र सङ्गीतको प्रवर्द्धनसँगै पोखराको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए।

उनका अनुसार, एक समय अंग्रेजी नयाँ वर्ष मनाउन नेपाली पर्यटक भारतको गोवा र थाइल्याण्ड जाने गरे पनि पोखरा सडक महोत्सवले पोखरालाई अंग्रेजी नयाँ वर्ष मनाउने प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न सफल भएको छ।

विसं २०७२ को विनाशकारी भूकम्प, कोभिड–१९ महामारी तथा पछिल्ला विभिन्न आन्दोलनजस्ता कठिन परिस्थितिका बाबजुद पनि महोत्सव निरन्तर रूपमा आयोजना हुँदै आएको उल्लेख गर्दै उनले प्रत्येक सङ्कटपछिको अवस्थामा सुस्ताएको पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न तथा ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउन महोत्सव प्रभावकारी बनेको बताए।

पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी भट्टराईले जाडोयाममा सुस्ताउने पर्यटन व्यवसायलाई चलायमान बनाउन महोत्सवले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै स्थानीय कृषिउपज, हस्तकला तथा घरेलु सामग्रीको प्रवर्द्धन र बजारीकरणमा समेत टेवा पुग्ने उनले बताए। क्रिसमस र नयाँ वर्षको अवसरमा विदेशी पर्यटकलाई नेपालमै आकर्षित गरी विदेशी मुद्रा आर्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।