काठमाडौं। टोखा नगरपालिकाको कार्यालयमा श्रम डेस्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८२ बमोजिम स्थापना गरिएको श्रम डेस्क नगर प्रमुख प्रकाश अधिकारीद्वारा विधिवत् रूपमा शुभारम्भ गरिएको छ।

शुभारम्भ कार्यक्रममा टोखा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरू, जिफन्ट बागमती प्रदेशका अध्यक्ष तथा प्रतिनिधिहरू, श्रम अधिकारका क्षेत्रमा कार्यरत संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, घरेलु तथा अनौपचारिक क्षेत्रका श्रमिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा श्रम डेस्क स्थापनाको आवश्यकता र औचित्यबारे प्रस्तुति तथा छलफल गरिएको थियो। करिब १५० भन्दा बढी सहभागीबीच सम्पन्न कार्यक्रममा वक्ता तथा सहभागीहरूले श्रमिकको सवालमा नगरपालिकाले चालेको कदमको उच्च प्रशंसा गर्दै आगामी दिनमा श्रमिकको हक–हितका लागि निरन्तर कार्य गर्न अपेक्षा व्यक्त गरे।

श्रम डेस्कको मुख्य उद्देश्यमा श्रमिकको हक, हित र अधिकारको संरक्षणका लागि श्रमिकको दर्ता तथा परिचयपत्र वितरण, श्रमिकका उजुरी तथा गुनासोको सुनुवाइ, श्रमिक र रोजगारदाताबीच असल सम्बन्ध स्थापना, रोजगारदातालाई जिम्मेवार बनाउँदै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, श्रम अनुगमन तथा निरीक्षण प्रणालीको विकास लगायत रहेका छन्।

टोखा नगरपालिकाको कार्यालयमा श्रम डेस्क स्थापना गर्न तरङ्गिनी फाउण्डेसनलगायत श्रमिक अधिकारका लागि कार्यरत विभिन्न संघ–संस्थाहरूको उल्लेखनीय भूमिका रहेको बताइएको छ।

नगरपालिकाले टोखा नगरभित्र रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई श्रम डेस्कमा सम्पर्क गरी सूचीकृत हुन आह्वानसमेत गरेको छ।