समावेशी र जलवायु–अनुकूल कृषि प्रवर्द्धनमा जोड, नेपाल फुड फोरम २०२५ सम्पन्न


काठमाडौँ, समावेशी, जलवायु–अनुकूल र दिगो कृषि–खाद्य प्रणाली निर्माण गर्ने लक्ष्यसहित नेपाल फुड फोरम २०२५ (NFF 2025) सम्पन्न भयो । फोरमले कृषि क्षेत्रको रूपान्तरणमा युवालाई केन्द्रमा राख्दै नवप्रवर्तन, उद्यमशीलता र सीप विकासमार्फत दीर्घकालीन खाद्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्य लिएको छ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) र कृषि तथा पशुपन्छी विकास मन्त्रालय(MoALD) को सहकार्यमा आयोजित फोरमले नेपालको कृषि विकास रणनीति, खाद्य सुरक्षा लक्ष्य तथा दिगो विकास लक्ष्य (SDGs) हासिल गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्दै FAO का प्रतिनिधि केन शिमिजुले भने, “नेपालमा कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि युवाको नेतृत्व,

नवप्रवर्तन र साझेदारी अत्यन्तै महत्वपूर्ण छ। समावेशी र जलवायु–उत्थानशील प्रणाली बिना दीगो खाद्य सुरक्षा सम्भव छैन।”

त्यसैगरी युएनडिपि नेपालकी हाना सिंगर–ह्याम्डीले भनिन्, “जलवायु परिवर्तन र जैविक विविधता ह्रासको प्रभाव न्यूनीकरण गर्न युवालाई केन्द्रमा राखेर नीति, लगानी र प्रविधि एकसाथ अघि बढाउन आवश्यक छ।”

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री मदन परियारले कृषि क्षेत्रलाई रोजगारी र उद्यमको आकर्षक माध्यम बनाउनुपर्नेमा जोड दिँदै भने, “ग्रामीण बेरोजगारी समाधान गर्न युवामैत्री नीति, वित्तीय पहुँच र बजार सुनिश्चित गर्नु आजको आवश्यकता हो।”

त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र मिश्रले भने, “प्रमाणमा आधारित नीति, डिजिटल प्रविधि र नवप्रवर्तनमार्फत कृषि–खाद्य प्रणालीलाई प्रतिस्पर्धी र उत्थानशील बनाउने दिशामा सरकार प्रतिबद्ध छ।”

वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द शर्माले जल, वन र कृषि प्रणालीबीचको अन्तरसम्बन्धलाई जोड दिँदै भने, “प्राकृतिक स्रोतको संरक्षण नगरी दीगो कृषि सम्भव छैन। यसका लागि समुदाय, विशेषगरी युवा र महिला, निर्णय प्रक्रियामा सहभागी हुनुपर्छ।”

फोरमका विभिन्न सत्रहरूमा डिजिटल कृषि, जोखिम न्यूनीकरण, प्रारम्भिक चेतावनी प्रणाली, स्वस्थ आहार प्रवर्द्धन, जैविक विविधता संरक्षण तथा युवाले नेतृत्व गरेका नवीन कृषि व्यवसाय र समुदायमा आधारित अभ्यासहरू प्रस्तुत गरिएका थिए।

हिमाली तथा पहाडी क्षेत्रका स्थानीय उत्पादन—अलैँची, अदुवा, हिमाली मह, याक चीज तथा उच्च पहाडी बाली—को मूल्य शृङ्खला विकासमार्फत रोजगारी सिर्जना, आय वृद्धि र जलवायु

उत्थानशीलता सुदृढ गर्न सकिने सम्भावनामाथि पनि छलफल गरिएको छ।

फोरमले सरकारी निकाय, निजी क्षेत्र, अनुसन्धान संस्था र विकास साझेदारबीच सहकार्य सुदृढ गर्दै नीति संवाद, लगानी प्रवर्द्धन र युवामुखी पहलमार्फत समावेशी, दिगो र उत्थानशील कृषि–खाद्य प्रणाली निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।