तीन दिने जुनार प्रवर्द्धन मेला सम्पन्न


सिन्धुली। स्थानीय रूपमा उत्पादित जुनारलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा चिनाउने उद्देश्यले गत मंगलबारदेखि सञ्चालन गरिएको प्रथम जुनार प्रवर्द्धन मेला बिहीबार सम्पन्न भएको छ ।

गोलन्जोर गाउँपालिका ४ तीनकन्या स्थित माझकुभिण्डेमा आयोजना गरिएको मेलाको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले गर्नुभएको थियो ।

कार्यक्रमको समापन गर्दै पालिकाका अध्यक्ष शंकरराज बरालले यस क्षेत्रको प्रमुख समस्याको रुपमा रहेकोे सडक स्तरोन्नतिका कार्य आफ्नो एकल प्रयासले मात्र सम्भव नहुने बताउँदै सबै पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष बरालले मेला सफल बनाउन योगदान पु-याउने सबै संघसंस्था, सुरक्षा निकाय, स्वयंसेवक, पत्रकार तथा मेला अवलोकनकर्ताप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

मेलाको अन्तिम दिन लामो समयदेखि जुनारका बिरुवा उत्पादन गर्दै आएका किसान, चार सयभन्दा बढी बोट लगाई निरन्तर खेतीमा सक्रिय कृषक, जुनारको प्रशोधनमार्फत विभिन्न परिकार उत्पादन गर्ने युवा उद्यमी तथा एकल महिला कृषकलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

साथै, कार्यक्रम सफल बनाउन सहयोग पु-याउने युवा स्वयंसेवक तथा परिकार प्रदर्शन गर्ने उद्यमीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

मेलाको दोस्रो दिन किसानहरूले भोगिरहेका रोग कीरा, खाद्यतत्व व्यवस्थापन, प्रशोधन तथा बजारीकरणसँग सम्बन्धित समस्यामा केन्द्रित संवाद कार्यक्रम गरिएको थियो । कृषकहरूले आफ्ना गुनासा राखेका थिए भने कृषि विज्ञहरूले बगैचाको अवलोकन गरी आवश्यक सुझाव तथा सल्लाह प्रदान गरेका थिए ।

तीन दिनसम्म सञ्चालित मेलामा जुनारबाट तयार गरिएका जुस, स्क्वास, जाम, जेली, क्यान्डी आदि खाद्यवस्तु तथा पालिकामा उत्पादित अन्य सामग्रीहरूको प्रदर्शनी र बिक्री गरिएको थियो ।