काठमाडौं। नेपालमा सञ्चालन रहेका चाैध ओटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अवधिमा सैतिस अर्ब ७१ करोड चार लाख रुपैयाँ बराबरको शेयर खरिद गरेका छन् ।
हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले पुँजी बजारमा लगानीको दायरा व्यापक रुपले बढाएका छन् । बीमा कम्पनीहरुले दोस्रो बजारमा सूचीकृत विभिन्न सेक्टरका कम्पनीहरुको शेयरमूल्य खरिद गर्दै लगानीको दायरा विस्तार गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार बीमा कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.६६ प्रतिशतले शेयर बजारमा लगानीको दायरा बढाएका हुन् । कम्पनीहरुले गत आवको असोज मसान्तसम्मको अवधिमा चाैविस अर्ब ८६ करोड ५३ लाख रुपैयाँ बराबरको लगानी पुँजी बजारमा गरेका थिए ।
समीक्षा अवधिमा हिमालयन लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सले सूचीकृत कम्पनीहरुको साधारण शेयरमा सबैभन्दा बढी लगानी गरेका छन् । साथै, गत आर्थिक वर्षको तुलनामा शेयर बजारमा लगानीको दायरा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक बढाउन सफल भएका छन् ।
हिमालयन लाइफ इन्स्योरेन्सले दोस्रो बजारमा सूचीकृत विभिन्न कम्पनीहरुको साधारण शेयरमा ११ अर्ब ३९ करोड ८४ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीले शेयर बजारमा लगानीको दायरा ६१.४५ प्रतिशतले बृद्धि गरेको छ । बजारको अनुकुलतामा कम्पनीले विभिन्न सेक्टरका उच्च प्रतिफल दिने कम्पनीहरुको शेयर खरिद गर्दै कम्पनीको लगानीको दायरा बृद्धि गरेको छ ।
साथै, लगानी विविधिकरणको सिद्धान्त अबलम्बन गरेको नेपाल लाइफ इन्स्योरेन्सले ६ अर्ब ३३ करोड ३८ लाख रुपैयाँको सूचीकृत कम्पनीहरुको साधारण शेयर खरिद गरेको छ । कम्पनीले अघिल्लो आवको तुलनामा गत आवमा शेयर बजारको लगानी ८९.७९ प्रतिशतले बढाएको छ । दोस्रो बजारको लगानीमा जीवन बीमा कम्पनीहरुले निकै रुची बढाएको देखिएको छ ।
