काठमाडौँ, टोखा नगरपालिका वडा नं. ६ स्थित १२ रोपनी सार्वजनिक जग्गामा निर्माण हुने सार्वजनिक पार्कको शिलान्यास बुधबार मेयर प्रकाश अधिकारीले सार्वजनिक पार्क निर्माणका लागि नगरपालिकाले विशेष प्राथमिकता रहेको बताएका छन।
टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई, सम्बन्धित विभागका अधिकारी, वडा अध्यक्षहरु/सदस्यहरु तथा स्थानीयवासीको समपस्थितिमा शिलान्यास कार्यक्रम सम्पन्न भयो।
पार्क शिलान्यास गर्दै मेयर अधिकारीले समुदायमै आधारित आधुनिक सार्वजनिक पार्क निर्माणका लागि नगरपालिकाले विशेष प्राथमिकता दिएको बताए। “खुला स्थान संरक्षण, हरियाली विस्तार र सुरक्षित सार्वजनिक स्थल निर्माण टोखाको दीर्घकालीन आवश्यकता हो। यही उद्देश्यसहित आधुनिक संरचनासहितको पार्क निर्माण अघि बढाइएको हो,” उनले भने।
पार्क निर्माण काठमाडौँ उपत्यका विकास प्राधिकरण (KVDA) को ‘क्लाइमेट रेजिलियन्ट डेभलपमेन्ट इन द काठमाण्डु भ्याली’ कार्यक्रम अन्तर्गत सञ्चालन हुनेछ।
योजना अनुसार हात्तीचोक तथा आसपासका क्षेत्रलाई हरियालीयुक्त, सुरक्षित र वातावरणमैत्री बनाउने लक्ष्यसहित माटो स्थायित्व सुधार, पानी सोसिने संरचना निर्माण, जोखिम न्यूनीकरण र खुला स्थान संरक्षणका काम अघि बढाइनेछ।
परियोजना KVDA द्वारा कार्यान्वयन हुनेछ भने संयुक्त राष्ट्र वातावरण कार्यक्रम (UNEP) र ग्लोबल इन्भाइरोमेन्ट फेसिलिटी (GEF) को प्राविधिक तथा आर्थिक सहयोग रहनेछ।
यो पार्क निर्माण सम्पन्न भएपछि टोखा–६ मा व्यवस्थित, हरियालीयुक्त र सर्वसाधारणका लागि सुरक्षित सार्वजनिक खुला स्थान थप विस्तार हुने अपेक्षा गरिएको छ।