कतारी राजाको फिर्ति सवारी


काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् ।

बिदाई कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री एवम् परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीहरूको समेत सहभागि थियो ।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा कतारका अमिर शेख तमिम विन हमाद अल थानी मङगलबार अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए ।

कतारका राजा अल थानीलाई मंगलबार दिउँसो राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका हुन् ।  सोहि अवसरमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो ।
विमानस्थलबाट अमिर थानी सिधै राष्ट्रपति भवन शितल निवास पुगेका थिए । शितल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबीचको प्रतिनिधिमण्डल सहित द्विपक्षीय भेटवार्ता भएको थियो ।

राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा मङ्गलबार रात्रिभोज आयोजना गरेको थियो । सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो ।

कतारका अमिर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार भएको भेटवार्ता तथा दुई देशबीचको प्रतिनिधिमण्डलसँको भेटघाटपछि प्रधानमन्त्रीले आयोजना गर्नुभएको दिवाभोजमा सरिक भई स्वदेश फिर्ता भएका हुन् ।