काठमाडौं। खोटाङ जिल्ला केपिलासगढी–४ निवासी छब्बिस वर्षीय प्रभिशन राईको उपचारका क्रममा लापरवाही भएको भन्दै उहाँका आफन्तले बल्खु वयाेदा अस्पतालमा आक्रोश प्रकट गरेका छन्।
राई सोमबार करिब १२ बजे मध्यरातमा सामान्य अवस्थामा रहे पनि स्वास प्रस्वासमा सामान्य समस्या भएपछि काठमाडौंको बल्खुस्थित बयोद्धा अस्पतालमा उपचारका लागि पुगेका थिए।
आफन्तका अनुसार राईलाई साथीको साथमा स्वयम् स्कुटर चलाएर नै अस्पतालको इमर्जेन्सीमा लगिएको थियो। प्रारम्भिक जांच तथा एक्स–रे पछि चिकित्सकले अवस्था सामान्य रहेको बताउँदै तुरुन्तै वार्डमा भर्ना गर्न आवश्यक नभएको बताएका थिए। यद्यपि, एन्डोस्कोपी गर्नुपर्ने सुझाव दिँदै सामान्य चेकजाँचपछि केही औषधि र इन्जेक्सन मात्र दिएर अस्पतालमा राखिएको आफन्तले बताएका छन्।
तर केही समयपछि राईको अवस्था अचानक बिग्रिएको र अस्पतालले तत्काल आईसीयूमा सारिएको जानकारी आफन्तलाई दिएको थियो। राईसँगै रहेका साथी तथा कुरुवालाई समेत स्पष्ट जानकारी नदिई प्रतिक्षालयमै बसाइएका कारण झनै शंका उत्पन्न भएको उनीहरू बताउँछन्।