नेपाल आँखा अस्पतालकाे सेवालाई थप गुणस्तरीय बनाउँदै २१औं साधारण सभा सम्पन्न


काठमाडौं। नेपाल आँखा अस्पतालको २१औँ वार्षिक साधारणसभा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भयो ।

अध्यक्ष पोखरेलले भन्नुभयाे, ‘नेपाल आँखा अस्पतालमा विभिन्न विषयका अनुसन्धान सुरु गरिएको छ, हाल नेत्र विशेषज्ञ र दृष्टि विज्ञेषज्ञहरुबाट २४ वटा शोधपत्र तयार गरिँदैछ।’

डा. पोखरेलले आँखा उपचारका क्षेत्रमा विकसित नयाँ प्रविधि भित्र्याउँदै गुणस्तरीय सेवा र भौतिक पूर्वाधार विकासमा उत्तिकै ध्यान दिइएको बताए।

अस्पतालले नियमित सेवाबाहेक शल्यक्रिया शिविर र विद्यालय आँखा कार्यक्रम सञ्चालन तथा मधुमेहबाट आँखासम्बन्धी हुनसक्ने रोग पत्ता लगाई उपचार गर्दै आएको छ ।

अस्पतालले गत आर्थिक वर्ष २०८१/ ०८२ मा बहिरङ (ओपिडी) तर्फ एक लाख ६४ लाख ५७० जनाको आँखा परीक्षण गरेको थियो भने अन्तरंगमा सात हजार ८०४ सहित १० हजार ३९० शल्यक्रिया गरेको जनाएको छ । हाल अस्पतालमा १६ जना नेत्र विशेषज्ञसहित १४१ जना कर्मचारी कार्यरत छन् । त्यस्तै, अस्पतालका आजीवन सदस्य सङ्ख्या १४१ रहेको छ ।

अस्पताल सञ्चालक समितिका सचिव युद्धध्वज सापकोटाले आर्थिक २०८१/ ०८२ मा ७५० बिरामीले उपचारमा निःशुल्क र सहुलीयतपूर्ण सुविधा लिएको बताए ।

गैरनाफामूलक सेवामुखी संस्थाका रुपमा ५२ वर्षअघि स्थापित अस्पतालले सरकार र विश्वस्वास्थ्य सङ्गठनको आँखा उपचारको लक्ष्यप्राप्ति गर्न गुणस्तरीय र सर्वसुलभ रुपमा सेवा प्रवाह गर्दै आएको छ। अस्पतालले राजधानी बाहिर अघिल्लो आर्थिक वर्षमा १५ वटा आँखाको निःशुल्क शल्यक्रिया शिविर र ३५ लाख बराबरको चस्मा र औषधि उपलब्ध गराएको थियो।

कोषाध्यक्ष अनिल प्रसाद गोर्खालीले गत आव २०८१/ ०८२ मा अस्पतालको कूल सम्पत्ति तथा जायजेथा ७२ करोड ५४ लाख ७५ हजार ४५० पुगेको जानकारी दिए । त्यस अवधिमा अस्पतालको आम्दानी २५ करोड, २५ लाख, ८० हजार ८७४ गरेको थियो । सोही अवधिमा अस्पतालले पाँच करोड ४६ लाख ६० हजार ६७६ मूल्य बराबरको मेसिनरी औजार र सवारीसाधन थप गरेको छ।

काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख तथा कार्यसमिति सदस्य राजाराम श्रेष्ठले नेपालको आँखा उपचारका क्षेत्रमा गौरवमय इतिहास रहेको विशिष्टीकृत सेवा प्रदान गरिरहेको आँखा अस्पताललाई दक्षिण एशियाकै नमुना अस्पतालका रुपमा विकास गर्न रचनात्मक सहयोगको अपेक्षा गरे।

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम, आर्थिक प्रतिवेदन र २०८१/ ०८२ को लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ।

अस्पतालको प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइँले अस्पतालले आगामी आर्थिक वर्षका लागि लिएको नीति तथा कार्यक्रमले अस्पतालको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुग्नेमा विश्वास व्यक्त गरे।