ईकोनोमिक खबर, काठमाडौं।
सरकारको सहभागितामा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ‘रत्न तथा आभूषण’ मेला खानी तथा भूगर्भ विभाग परिसर लैनचौरमा हुने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी तथा भूगर्भ विभागको आयोजना तथा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको सहकार्यमा यही जेठ ३ देखि ५ गतेसम्म मेला हुन लागेको हो।
नेपालमा उत्खनन भएका अति महत्वपूर्ण तथा महत्वपूर्ण सुन, चाँदी, रत्न पत्थर लगायतका सामग्री प्रदर्शनीमा राखिनेछन्। नेपालको पूर्व देखि पश्चिमसम्म फैलिएका पहाडी तथा हिमाली क्षेत्रमा पाईने बहुमूल्य रत्न, पत्थरलाई प्रदर्शन गर्न लागिएको खानी तथा भूगर्भ विभागले जनाएको छ। स्वदेशी रत्न, पत्थर तथा खनिजको प्रवद्र्धन गरी आभूषणको निर्यातमा जोड दिदै बिस्तार एवं आयात प्रतिस्थापनामा टेवा र्पुयाउने उद्देश्यले यस मेला आयोजना गरिएको विभागका सहसचिव जयराज घिमिरेले जानकारी दिए।
नेपालमा उत्खनन भएका रत्न, पत्थर तथा गरगहनाको मौलिकता, विविधता, विशिष्टतालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा उजागर गरी निर्यात प्रवद्र्धन गर्ने, स्वदेशी रोजगारीमा विस्तारहुनुका साथै नेपाल सरकारलाई राजस्व तथा करमा थप योगदान पुग्ने विभागको विश्वास रहेको छ। मेलामा सरकारका सम्बन्धित क्षेत्रका विभिन्न निकाय, निजी क्षेत्रका अग्रणी संस्था, भारत, चीन, थाईल्याण्ड, जापान, म्यानमार, श्रीलङ्का, बंगलादेश, मलेसियालगायतका देशहरुको ७० वटा स्टल रहने सहसचिव घिमिरेले बताए। मेलामा खनिज प्रशोधनसम्बन्धी विभिन्न प्रविधि देखाउनका साथै खानि सम्बन्धि विभिन्न गोष्ठी, बैठक हुने जनाएको छ।