काठमाडौं। शनिबार राष्ट्रिय वाणिज्य बैङ्कले आयोजना गरेको व्यवस्थापन सम्मेलन २०२४ कार्यक्रमको समुद्घाटन गर्नुहुँदै अर्थमन्त्री पुनले बैंक तथा वितिय सङ्घ सस्थाानीयलाई ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता फैलाउने कुरा स्वीकार्य नहुने बताउनुभयो।
सरकारहरू निरन्तरताका आधारमा सञ्चालित हुन्छन्, तिनका आधारमा नीतिहरू आधारभूतरुपमा परिवर्तन नहुने बताउनुभयो । यसैको आधारमा सरकारले नीति बनाएर कार्य गरिरहेको उहाँको भनाइ छ ।
राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा परिवर्तन नभइरहेको सन्दर्भमा राजनीतिक प्रणालीको समेत समीक्षा गरी हामीले नयाँ ढङ्गले कार्य गरिरहेको उहाँले बताउनुभयो । उहाँले बैंकिङ्ग क्षेत्र जनताको रकमबाट सञ्चालित हुने भएकाले संस्थागत सुशासन कायम गर्न जोड दिनुपर्ने बताउनुभयो ।
हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतीहरूको बारेमा अर्थविद्, बैंकिङ्गविज्ञ तथा उद्यमीहरूका बिचमा व्यापक छलफल गरी बैंकिङ्ग क्षेत्रमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ्ग विकासका लागि दिशा निर्देश गर्न राष्ट्रिय वाणिज्य बैङ्कले बैङ्कको व्यवस्थापन सम्मेलन २०२४ को आयोजना गरिरहेको छ।
यसैगरी, नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रिय वाणिज्य बैङ्क विभिन्न परिसूचकहरूको आधारमा सबल रहेको बताउनुहुँदै आफ्नो स्रोतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले बैंकिङ्ग क्षेत्रले जनविश्वास कायम गर्नेगरी कार्य गर्नुपर्नेमा जोड दिनुभयो । साना खराब कामले संस्थालाई असर गर्ने हुँदा सचेत भएर काम गर्नुपर्ने बताउनुभयो।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले समग्र बैंकिङ्ग क्षेत्रको बारेमा अवगत गराउनुभयो। उहाँले राष्ट्रिय वाणिज्य बैङ्कले दिगो व्यावसायिक वृद्धिको आधार र गुणस्तरमा सुधार भन्ने नाराका साथ कार्य गरिरहेको बताउनुभयो।
नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसीले पछिल्लो समयमा बैंकिङ्ग क्षेत्रको बारेमा विभिन्न टीकाटिप्पणी हुने गरे पनि वित्तीय अवस्था ठिक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बैंकिङ्ग क्षेत्रको योगदानका लागि सम्मान व्यक्त गर्दछौँ ।’’ उहाँले नेपालको बैंकिङ्ग क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट बैंकिङ्ग क्षेत्र हुन सक्ने दाबी गर्नुभयो ।
कार्यक्रममा अर्थविद् एवम् सांसद डा. स्वर्णिम वाग्ले, अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. रामप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष एवम् उद्यमी भवानी राणा, अर्थविद् एवम् राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ, वरिष्ठ बैंकर्स परशुराम कुँवर, भुवन दाहाल तथा किरणकुमार श्रेष्ठ, फिनटेक विज्ञ सञ्जीव सुब्बा, कमनसेन्स विज्ञ सुजिव शाक्य लगायतले आ–आफ्नो धारणा राखेका छन।