economickhabar.com, ktm,
प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण टोलीमा निजी क्षेत्रको समेत सहभागिता रहने भएको छ ।
बैशाख २६ गतेदेखि आरम्भ हुने भियतनाम तथा कम्बोडीयाको भ्रमण टोलीमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर र निवर्तमान अध्यक्ष हरिभक्त शर्मा लगायतका उद्योगीहरुको सहभागी रहेको छ । टोलीमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)की अध्यक्ष भवानी राणा र उपाध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष एवं भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठ, नेपाल भियतनाम चेम्बर अफ कमर्सका अध्यक्ष दीपक मल्होत्रा, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरी पनि टोलीमा समावेश भएकाछन । नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्य, नेपाल भियतनाम चेम्बर अफ कमर्सका सदस्य दिनेशप्रसाद श्रेष्ठ, पर्यटन व्यवसायी राजु ढकाल, शशीधर शर्मा, चेम्बर सदस्य दीपक पोखरेल र लगानी बोर्डका सदस्य वालकृष्ण शिवाकोटी पनि टोलीमा रहेका छन ।
ती दुई देशमा रहँदा उद्योगी सम्मिलित प्रतिनिधिमण्डल प्रधानमन्त्रीको औपचारिक कार्यक्रमहरुमा समेत संलग्न हुनेछ । त्यस्तै दुवै देशहरुका उद्योग वाणिज्य संघका पदाधिकारीसँग समेत भेटवार्ता गरी दुबै देशका निजी क्षेत्र बीचको सम्पर्क र सञ्जाल विस्तारका लागि पनि पहल गर्ने बताइएको छ ।
यद्ध चेपेटामा परेका दुवै मुलुक दक्षिण–पूर्वी एशियामा आर्थिक विकासको क्षेत्रमा उदयीमान मुलुकको रुपमा अघि बढिरहेको पृष्ठभूमिमा नेपाल–भियतनामका साथै कम्बोडिया बिचको आर्थिक ब्यवसायीक सम्पर्क, सहकार्य र सहयोगको क्षेत्र विस्तार गर्न दुबै देशका निजी क्षेत्र बिचको सम्बन्ध सुधारमा यस भ्रमणका क्रममा हुने भेटवार्ताबाट महत्पूर्ण सहयोग पुग्ने विश्वास लिएको छ ।