economickhabar, ktm,
बुधबारको नेप्से सामान्य अंकले ओरालो लागेको छ । मंगलबार सामान्य अंकले बढेर १३०० अंक नाघेको परिसूचक बुधबार ३।६८ अंकले घटेर १२९७.६० अंकमा झरेको हो ।
बजारमा परिसूचक सँगै कारोबार रकम लगायत क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्समा गिरावट देखिएको छ । बजारमा कूल १७५ कम्पनीको ५० करोड ७९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.१७ अंकले घटेर २७८ अंकमा झरेको छ ।
कूल कारोबार मध्ये सबैभन्दा बढी सिभिल बैंकको बढी शेयर किनबेच भएको छ । बैंकको एकैदिन ५ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर बिक्री भएका छन् । सो दिन बैंकको शेयर मूल्य प्रतिकित्ता १५२ रुपैयाँ रहेको छ ।
त्यस्तै, मेगा बैंक र शिवम सिमेन्टको क्रमशः ४ करोड ९६ लाख र ४ करोड १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार मेगा बैंकको सेयर मूल्य प्रतिकित्ता १९५ र शिवमको प्रतिकित्ता ३९० रुपैयाँ रहेको छ ।
सो दिन कारोबारमा आएका विभिन्न समूह मध्ये ३ समूहको सूचक हरियो देखिए भने बाँकी समूह राताम्मे छन । सबैभन्दा बढी होटल समूह ३२ अंकले घटेको छ । उत्पादनमूलक, अन्य र ट्रेडिङ समूह भने क्रमशः ६९, ३ र २ अंकले उकालो लागेका हुन ।
सोमबार सबैभन्दा बढी हिमालयन डिष्टीलरी लिमिटेड (एचडीएल)का लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । जसको शेयर मूल्य १६५ रुपैयाँले बढेर प्रतिकित्ता १८१५ रुपैयाँ पुगेको छ । कमाउने मध्ये बाँकी कम्पनीहरुले भने ५ प्रतिशतभन्दा कम कमाएका छन ।
उता मल्टी प्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ९.५५ प्रतिशत गुमाएका छन ।