ईकोनोमिक खबर, चैत १५–१६ काठमाडौंमा भएको लगानी सम्मेलनमा भाग लिएका विषय विज्ञ तथा सरोकारवालाहरूले नेपालको जलविद्युत दक्षिण एसियाकै विकासको आधार भएको प्रतिक्रिया दिएका छन्।
नेपालको ऊर्जा क्षेत्रलाई दक्षिण एसियाकै प्रमुख लगानी गन्तव्यको रूपमा हेरिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्र नै मुलुकको आर्थिक रुपान्तरणको प्रमुख आधार भएकाले सरकारले यस क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको बताए।
शुक्रबारदेखि शुरु भएको लगानी सम्मेलनको क्रममा ‘आर्थिक समृद्धिका लागि ऊर्जा’ विषयको सत्रलाई सम्बोधन गर्दै, सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने र त्यसमा पाँच हजार मेगावाट निर्यात गर्ने लक्ष्य लिएको बताए।
ऊर्जा क्षेत्रको विकासका लागि मन्त्रालयले नियमित रूपमा नीतिगत सुधारगरी लगानीमैत्री वातावरण बनाएको र ऊर्जा मिश्रणको अवधारणालाई व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याएको उनले बताए। नेपाली जनताको लगानीमा केही आयोजना निर्माण गर्ने लक्ष्यका साथ सरकारले जनताको जलविद्युत कार्यक्रम शुरु गरिसकेको जानकारी दिँदै मन्त्री पुनले ठूला आयोजनामा विदेशी लगानी भित्र्र्याउन सरकार प्रयासरत रहेको बताए। प्रशारण लाईनका गुरुयोजना तथा ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रशारण लाइनजस्ता आयोजना अगाडि बढाइएको र क्षेत्रीय बजारसम्म पुग्नका लागि द्विपक्षीय तथा बहुपक्षीय संयन्त्रमार्फत काम भइरहेको पनि उनले बताए।
राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न जलाशययुक्त जलविद्युत आयोजना निर्माण जरुरी रहेको बताए। चीन, भारत र बंगलादेशसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न द्विपक्षीय संयन्त्रसमेत खडा गरिएको स्पष्ट पार्दै उनले नेपालको जलविद्युतलाई क्षेत्रीय बजारमा उपलब्ध गराउन लागि परेको बताए।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले सरकारले आगामी ३ वर्षमा तीन हजार मेगावाट, ५ वर्षमा पाँच हजार र १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएकाले त्यसलाई व्यवस्थापन गर्न आफूहरू लागिपरेको बताए।
वित्तीय लगानीको जोखिम कमगर्न सरकारले ‘हेजिङ फण्ड’ सम्बन्धि व्यवस्था गरिसकेकाले वैदेशिक लगानीकर्तालाई समेत सहजरूपमा लगानी गर्ने वातावरण बनेको उनको भनाइ थियो । करिब १६ हजार मेगावट क्षमताका आयोजना विभिन्न चरणमा रहेको जानकारी दिँदै मन्त्री पुनले करीब ५ हजार मेगावाट क्षमताका आयोजना निर्माणमा रहेको बताए।
बंगलादेश पावर डेभलपमेन्ट बोर्डका प्रमुख इन्जिनियर मोहबुबुर रहमानले आफ्नो देशको कूल मागमध्ये १५ प्रतिशत विद्युत छिमेकी देशबाट आयात गरिरहेको जानकारी दिँदै नेपालसमेत आफूहरूका लागि उपयुक्त श्रोत भएको बताए।
सम्मेलनमा पावर चाइनाका महाप्रबन्धक सड्ं दोड्सेड्ले एक क्षेत्र एक मार्ग अभियान अन्तर्गत नेपालमा थप लगानी गर्न चाहेको जानकारी दिए।