काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले उल्लेख्य उपलब्धि हाँसिल गर्दै गएको दाबी गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औं वार्षिकोत्सव समारोहमा प्रगति विवरण सुनाउँदै आर्थिक बर्ष २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ७१ करोड ३८ लाख आम्दानी गरेको बताए । जसमध्ये एरोनटिकलतर्फ ११ अर्ब ५१ करोड ८९ लाख छ भने ननएरोनटिकलतर्फ तीन अर्ब १९ करोड ४९ लाख रहेको विवरण प्रस्तुत गरे, उनले गत वर्ष पुँजीगततर्फ नेपाल सरकारकोसहित १० अर्ब ५२ करोड ७० लाख लगानी भएको बताए ।
त्यस्तै कार्य सञ्चालन खर्चतर्फ चार अर्ब ३८ करोड ४८ लाख, ह्रास खर्च चार अर्ब ३४ करोड १३ लाख, ब्याज खर्च एक अर्ब ३३ करोड एक लाख र आयकर खर्च एक अर्ब २७ करोड ९९ लाख गरी प्राधिकरणको कोषबाट जम्मा ११ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरे ।
प्राधिकरणको गत आर्थिक वर्षको सञ्चालन मुनाफा तीन अर्ब ३७ करोड ७८ लाख रहेको बताए ।
प्रगति विवरण प्रस्तुत गर्ने क्रममा महानिर्देशक अधिकारीले सन् २०२३ को नोभेम्बरसम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या कुल ४१ लाख ५४ हजार ३ सय ९३ रहेको बताए ।
सन् २०२३ का नोभेम्बरसम्ममा ४४ लाख ४९ हजार १३३ रहेको र गत वर्षको तुलनामा यात्रुको संख्यामा ७.०९ प्रतिशतले वृद्धि भएको बताए ।
यसैगरि आन्तरिक उडानतर्फ २०२३ को नोभेम्बर सम्ममा कुल ७७ लाख हवाई यात्रुहरुले यात्रा गरेकोमा २०२४ को नोभेम्बरसम्म यो संख्या ८७ लाख ६० हजार ३ सय २ रहेको उनले सुनाए । गत वर्षको तुलनामा यात्रु संख्यामा आन्तरिकतर्फ १३ प्रतिशतले वृद्धि भएको उनले बताए ।
नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको सङ्ख्या सन् २०२३ मा २९ रहेकोमा हाल २०२४ मा भिस्तारा एयरलाइन्स एयर इन्डियामा मर्ज भएपछि २८ मा झरेको पनि उक्त प्रगति विवरणमा उल्लेख गरिएको छ ।
नेपालबाट १६ देशका २९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको र आन्तरिकतर्फ सञ्चालन अनुमति प्राप्त जम्मा २१ वटा वायुसेवामध्ये हाल क्रियाशील वायुसेवा कम्पनीहरूको सङ्ख्या १९ रहेको जनाइएको छ । जसबाट कुल ५५ बटा विमानस्थलमध्ये ३५ वटा विमानस्थलहरू आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएको विवरणमा उल्लेख छ।