राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गर्ने काम नगरेको बताएका छन्।
जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा बयान दिँदै लामिछानेले सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार आफूले गैरकानुनी आर्जन नगरेको बताएका हुन्।
‘मेरो खातामा आउने जाने/गरेको ‘ट्रान्जेक्सन’ विवरण देखाइएको हो,’ उनले बयानमा भनेका थिए, ‘मेरो खातामा आउने जाने घुमेको घुम्यै भएर देखिएको हो। गैरकानुनी सम्पत्ति आर्जन गर्ने काम मैले गरेको छैन।’
इजलासमा उपस्थित अधिवक्ता युवराज पराजुलीका अनुसार लामिछानेले संसदीय छानबिन समिति र प्रहरीलाई दिएको बयानसँग मिल्दोजुल्दो बयान अदालतमा दिएका छन्।
जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा दर्ता गरेको अभियोगपत्रमा लामिछानेलाई सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ गैरकानुनी आर्जन गरेकाले असुल उपर गर्न बिगो माग गरेको थियो। अभियोग पत्रमा लामिछानेको खाताबाट भएको त्यतिका रकम कारोबारको स्रोत नखुलेको र गैरकानुनी रूपमा आर्जन गरेको अभियोग लगाइएको छ।
उक्त प्रश्नको जबाफमा लामिछानेले आफ्नो बैंक खाताबाट कारोबार भएको रकम मात्र भएकाले उक्त रकम आफूले आर्जन नगरेको बयान दिएका हुन्।
अभियोग पत्रमा लामिछानेलाई सहकारी ठगीतर्फ ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो माग गरिएको छ।
सहकारी ठगीका प्रश्नमा लामिछानेले आफू कुनै पनि सहकारीको सेयर सदस्य, सञ्चालक लगायत कुनै पदमा नभएको, सहकारीबाट ऋण माग नगरेको र गोर्खा मिडिया नेटवर्क प्रालिमा सहकारीको पैसा लैजाने निर्णय प्रक्रियामा पनि आफ्नो संलग्नता नरहेको बयान दिएका छन्।
सहकारी ठगीमा मेरो कुनै संलग्नता छैन। मैले कही फर्म भरेको छैन। निर्णय भएको पनि होइन,’ अधिवक्ता पराजुलीका अनुसार उनले बयानमा भनेका छन्, ‘संसदीय समितिको प्रतिवेदनले पनि मलाई ‘क्लिन चिट’ दिएकै छ।’
संगठित अपराधतर्फको प्रश्नमा पनि उनले यसअघि जस्तै इन्कारी बयान दिएका छन्। सहकारी ठगीमा संलग्न नै नभएपछि संगठित अपराधमा संलग्न हुने कुरै नहुने उनले बयानमा बताएका छन्।
सहकारीको पैसा गोर्खा मिडिया नेर्टवर्क प्रालिमा गैरकानुनी रूपमा कसरी गयो भन्ने प्रश्नमा लामिछानेले उक्त प्रश्न जिबी राईसँग सोध्नुपर्ने बताएका छन्।
गोर्खा मिडियामा सहकारीबाट कसरी पैसा आयो भन्ने प्रश्न जिबी राईलाई सोध्नुपर्छ,’ उनले भनेका थिए, ‘यस विषयमा मलाई जानकारी छैन।’
बिहीबार र शुक्रबार गरी लामिछानेसँग २८ वटा प्रश्न सोधिएको थियो। उनले सबै प्रश्नमा इन्कारी बयान दिएको अदालत स्रोतले बताएको छ।
जिल्ला अदालत कास्कीका स्रेस्तोदार राजन खनालका अनुसार बिहीबार र शुक्रबार अबेरसम्म बसेर भए पनि लामिछानेको बयान सकिएको बताए। अब उक्त अभियोग लागेका अन्य व्यक्तिहरूको बयान हुनेछ।
यसअघि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेका पूर्वडिआइजी छविलाल जोशी र लिला पछाईंको बयान लिएको थियो।
जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहित ६३ जनाविरूद्ध जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ। उनीहरूबाट सहकारी ठगीमा मात्र १ अर्ब ५१ करोड भन्दा बढी रकम बिगो माग गरिएको छ।