काठमाडौं/ उद्योग वाणिज्य महासंघले लगानी प्रवर्द्धन र नीतिगत सुधारमा केन्द्रित भएर निरन्तर पैरवी गर्दै आएको अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्।
अध्यक्ष ढकाल नेतृत्वको नयाँ कार्यसमिति चयन भएको डेढ वर्ष पुगेको छ । यो अवधिमा अर्थतन्त्रमा निजी क्षेत्रको योगदान देखाउने प्रगति प्रतिवेदन सार्वजनिक गर्नुलाई महत्त्वपूर्ण उपलब्धि मानिएको छ।
विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफस) सँगको सहकार्यमा महासंघले गत जेठमा 'स्टेट अफ प्राइभेट सेक्टर' प्रतिवेदन सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदनले अर्थतन्त्रमा निजी क्षेत्रको ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको देखाएको थियो।
त्यस्तै, नीतिगत सुधारका क्षेत्रमा पहलकदमी लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयकका साथै निजी क्षेत्रसँग सम्बन्धित १२ भन्दा बढी विधेयकमा भएको छलफलमा सहभागी भई राजनीतिक दललाई निजी क्षेत्रमा अख्तियारको प्रवेश रोक्न सहमत गराउन सफल भएको ढकालको दाबी छ।
तीन वर्षदेखि खलबलिएको लगानीको वातावरणलाई सुधार गर्नुपर्ने चुनौतीलाई पनि महासंघ नेतृत्वले गम्भीरतापूर्वक लिई सहजीकरण गरिरहेको ढकालको
भनाइ छ।
महासंघले १० अर्ब पुँजीको लगानी कम्पनी खोलेर निजी क्षेत्रलाई लगानीका लीग प्रोत्साह गर्ने र ठुला आयोजना सञ्चालनका लागि योगदान गर्ने निर्णयसमेत यही अवधिमा गरेको छ।
नेपालका लागि लगानी प्रवर्द्धन गर्न चीनमा दुई पटक नेपाल-चीन बिजनेस समिट आयोजना, नयाँदिल्लीमा नेपाल-भारत समिट र युएईमा नेपाल-दुबई बिजनेस फोरम आयोजना गरिएको थियो।
त्यसैगरी, दक्षिण-पूर्वी एसियाली मुलुकका चेम्बरहरूको संगठन एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी)को सम्मेलन नेपालमा आयोजना गरिएको थियो।
पहिलोपटक राजधानीबाहिर भैरहवामा महिला उद्यमी सम्मेलन पनि आयोजना भएको थियो।
महासंघको अन्तर्राष्ट्रिय लगानी सम्मेलनहरूमा निरन्तर संलग्नता पश्चात् सम्भावित लगानी गर्ने मुलुकसँग द्विपक्षीय लगानी सम्झौता आवश्यक रहेको विषय सम्बन्धित निकायमा निरन्तर माग गरेपछि द्विपक्षीय लगानी सम्झौताको खाका मन्त्रिपरिषद्ले पारित गरेको ढकालले जानकारी दिए।
वैशाखमा आयोजित तेस्रो लगानी सम्मेलनलाई लक्षित गरी निजी क्षेत्रको आग्रहमा विभिन्न ऐनहरू संशोधन भई लगानीका लागि सहज भएको उनले बताए।