काठमाडौं, नेपाल, चुरे उत्थानशील आयोजनाले २४ जना वनकर्मी तथा प्राकृतिक स्रोत व्यवस्थापन कर्मीलाई वन भूपरिधी पुनर्स्थापना र प्राकृतिक पुनरुत्थान सहयोग सम्बन्धी तालिम प्रदान गरेको छ । तालिम कार्तिक ५ देखि ८ गतेसम्म इटहरीको होटल त्रियुगामा भएको थियो ।
तालिम प्राप्त सहभागीहरूले वन भूपरिधी पुनर्स्थापना र प्राकृतिक पुनरुत्थान सहयोगको अवधारणा, औचित्य, र दृष्टिकोणहरूका बारेमा वन उपभोक्ता समूहहरूलाई तालिम दिने सहजकर्ताको रूपमा काम गर्नेछन् ।
ूप्रशिक्षणमा हामीले बिरुवाहरूको प्राकृतिक पुनरुत्थानमा कसरी सहयोग गर्ने भनेर सिकेका छौं । हामीले प्राकृतिक स्रोतहरू व्यवस्थापन गरेर वन भूपरिधी कसरी पुनर्स्थापित गर्ने भनेर पनि सिकेका छौं ( यस क्षेत्रमा लोप भइसकेका प्रजातिहरू प्रतिस्थापन गरेर, संरक्षण पोखरी खनेर, संरक्षणको लागि जंगलमा बार लगाएर, आदि) ।
म बेलका-१, उदयपुरमा मेरो सिकाइलाई कार्यान्वयन गर्नेछु, जहाँ म स्थानीय वन उपभोक्ता समूहसँग समन्वय गरी सानो नमूना क्षेत्रमा वन पुनर्स्थापना गर्ने काम गर्नेछु, -सहभागी लक्ष्मी बस्नेत भन्छिन् । बस्नेतले उदयपुरका किसानहरूका लागि कृषक पाठशाला सहजीकरण गर्ने गरेकी छिन् ।
यी कार्यक्रमहरूको समग्र उद्देश्य चुरेको पारिस्थितिकीय प्रणालीमा सुधार गर्न वन भूपरिधी पुनर्स्थापना र प्राकृतिक पुनरुत्थान सहयोगको सान्दर्भिकता बुझाउनु र त्यसको कार्यान्वयनका लागि प्रादेशिक वन कर्मचारीहरू र सहजकर्ताहरूलाई सक्षम बनाउनु थियो । यी गतिविधिहरू चुरेको प्रकृतिको पुनर्स्थापना गर्ने उद्देश्यले चुरे उत्थानशील आयोजनाले गर्ने मुख्य गतिविधिमा पर्दछन् । डिभिजन र सब-डिभिजन वन कार्यालयको प्रत्यक्ष प्राविधिक सहयोग र सहकार्यमा आयोजना क्षेत्रमा यी गतिविधि सञ्चालन गरिनेछन् ।
सम्बन्धित नीतिहरू र कार्य योजनाहरूको दायरा भित्र वन उपभोक्ता समूहहरूले यी गतिविधिको कार्यान्वयन गर्ने हुनाले, वन अधिकारीहरू मार्फत उनीहरूको क्षमता अभिवृद्धि गर्नु महत्त्वपूर्ण मात्र नभएर दिगो तरीका पनि हुने अपेक्षा गरिएको छ ।
“वन क्षेत्र धेरै घटेको छ, र आज वन पुनर्स्थापनाको महत्त्वपूर्ण र आवश्यकता छ । यी गतिविधिहरू कार्यान्वयन गर्न डिभिजन वन कार्यालय प्रत्यक्ष रूपमा जिम्मेवार छ । त्यसैले यी गतिविधि कसरी सञ्चालन गर्ने भनेर हामीले यो तालिममा सिकेका छौं । हामी सबैभन्दा पहिले जिल्लामा चुरे उत्थानशील आयोजनाले काम गर्ने क्षेत्रहरू पहिचान गर्नेछौं । त्यसपछि हामी पुनर्स्थापनाको लागि ठाउँ छनोट गर्नेछौं, सरोकारवालाहरूको पहिचान गर्नेछौं, लक्षित क्षेत्रमा जग्गाको सीमा परिभाषित गर्नेछौं । त्यसपछि हामी सरोकारवालाहरूसँग यी गतिविधिहरूका बारेमा छलफल गर्नेछौं, वन भूपरिधी पुनर्स्थापना गर्नुको वा बाँझो जमीनमा रूख रोप्नुको फाइदाहरू बताउनेछौं र यी गतिविधिहरू सञ्चालन गर्नेछौं । यी सबै सैद्धान्तिक र व्यवहारिक अवधारणाहरू हामीलाई स्पष्ट पारिएकाले तालिम लाभदायी भएको छ र हामीले काम अघि बढाउनका लागि स्पष्ट चरणहरू पहिचान गरेका छौं,” त्रिवेणी, कटारीका डिभिजन वन अधिकृत बुनी लाल बैठा भन्छन् ।
तालिमका मुख्य विषयवस्तुमा वन भूपरिधी पुनर्स्थापनाको अवधारणा, औचित्य, प्रकार र तरीका, र प्राकृतिक पुनरुत्थान सहयोगको अवधारणा, औचित्य, ठाउँ चयन र प्रक्रिया थिए । वन भूपरिधी पुनर्स्थापना र प्राकृतिक पुनरुत्थान सहयोगका मुख्य सरोकारवालाहरू, ध्यानमा राख्नु पर्ने सामाजिक-आर्थिक मुद्दाहरू, साथै जग्गाको स्वामित्व लगायतका समस्या र चुनौतीहरूका बारेमा छलफल गरियो ।
तालिमको उद्घाटन वन तथा वातावरण मन्त्रालयका प्रदेश निर्देशक डा.इन्द्रप्रसाद सापकोटाले गरेका थिए । तालिमको सहजीकरण चुरे उत्थानशील आयोजनाका विज्ञ डा. गंगाराम दाहाल र डा. विष्णुहरि पौड्याल, र चुरे उत्थानशील आयोजनाका कोशी प्रदेश संयोजक राजकुमार गुप्ताले गरेका थिए । कुल सहभागी मध्ये २५% आदिवासी, १२.५% मधेशी र ०.५% दलित समुदायका थिए । करिब ५५ प्रतिशत सहभागी युवा अर्थात् १६ देखि ४० वर्ष उमेर समूहका थिए ।
सरकारी अधिकारीहरू र सहजकर्ताहरूलाई वन भूपरिधी पुनर्स्थापनाको अवधारणा, प्रकारहरू र औचित्य बुझाउन र वन उपभोक्ता समूह स्तरमा प्राकृतिक पुनरुत्थान सहयोगको अभिमुखीकरण गर्न तालिम सफल भएको छ, जसले यी गतिविधिको प्रभावकारी कार्यान्वयन गर्न सघाउनेछ । तालिमपूर्व र तालिमपछि सहभागीहरूको परीक्षा लिइएको थियो, जस अनुसार तालिमपछि उनीहरुको विषयगत ज्ञानमा औसत ३७ प्रतिशतले वृद्धि भएको देखाएको छ,’ सहजकर्ता डा. विष्णुहरि पौड्याल भन्छन् ।
चुरे उत्थानशील आयोजनाका बारेमा
चुरे उत्थानशील आयोजना (BRCRN) हरित जलवायु कोष (ग्रीनक्लाइमेट फन्ड GCF) ले लगानी गरेको नेपालको पहिलो परियोजना हो। नेपाल सरकारले वन तथा वातावरण मन्त्रालय मार्फत संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (FAO) को प्राविधिक सहयोगमा यो आयोजना कार्यान्वयन गर्दै आएको छ ।
चुरे उत्थानशील आयोजनाले जलवायु-उत्थानशील भू-उपयोगका अभ्यासहरू व्यापक रूपमा अपनाउने, वन फँडानी र वन क्षयीकरणका चुनौतीहरूको सामना गर्ने, चुरे पहाडहरूमा वन-पारिस्थितिकीय प्रणालीलाई राम्रोसँग कायम राख्ने र जलवायु उत्थानशीलता बढाउने लक्ष्य राखेको छ।
चुरे उत्थानशील आयोजनाले नेपालको मध्य र पूर्वी चुरे क्षेत्रमा जोखिममा रहेका २६ नदी प्रणालीमा काम गर्दछ। यो परियोजनाले आवासीय क्षेत्र र जलक्षेत्र बाहेक ७,०२,०११ हेक्टर जमिन समेटेको छ।