काठमाडौं । कृषि विकास बैंक स्थापनाको ५८ औँ वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको थियो।
बैंकको ५८औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकको क्षमता, सामर्थ, बैंकको प्रतिष्ठा र बैंकको इज्जतलाई पहिलो कार्यसूची बनाउन बैंकका सबै कर्मचारीहरुलाई आग्रह गरेका छन्।
उनले बैंक सबल, प्रभावकारी र बैंकको इज्जत माथी उठ्यो भने समस्त कर्मचारीहरुको ईज्जत माथि उठ्ने भएकाले बैंकको इज्जतलाई पहिलो कार्यसूची बनाउन आग्रह गरेका हुन्।
उनले भने, ‘विशेषगरी बैंकको व्यवस्थापन र कर्मचारी साथिहरुकाबीचमा जिवन्त सम्बन्ध हुनुपर्छ । जहाँ राम्रो सम्बन्ध हुन्छ त्यहाँ प्रगति हुन्छ । म सबै कर्मचारीहरुलाई आग्रह गर्न चाहन्छु।
यहाँहरुले सबै भन्दा पहिलो प्राथमिकता बैंकको क्षमता, बैंकको सामर्थ, बैंकको प्रतिष्ठा र बैंकको ईज्जतलाई पहिलो कार्यसूची बनाउनु पर्दछ ।बैंक सबल भयो, बैंक प्रभावकारी भयो, बैंकको ईज्जत माथि उठ्यो भने समस्त कर्मचारीहरुको ईज्जत माथि उठ्छ ।’
साथै उनले प्राय व्यवस्थापन र कर्मचारीबीच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरुले अपेक्षित प्रगती गर्न नसकेको बताए । उनले हरेक बैंकहरुले रोजगारी सिर्जना हुने ठाउँमा आफ्नो लगानी गर्न समेत आग्रह गरे ।