संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (FAO) ले नेपाल सरकार र मण्डनदेउपुर नगरपालिकाको सहकार्यमा नेपालको पहिलो '4 Betters' नमुना गाउँ कार्यक्रम मण्डनदेउपुर नगरपालिका, काभ्रेमा सुरु भएको छ।
यो पहलले नेपाललाई दिगो विकासतर्फ अघि बढाउन नयाँ आयाम थपेको छ। स्थानीय समुदायको जीवनस्तर सुधार गर्न समग्र दृष्टिकोण अपनाई, यसले पूर्वाधारको विकास गर्दै सामाजिक, आर्थिक, र वातावरणीय सुदृढतालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
4 Betters मोडलले समुदायलाई आत्मनिर्भर बनाउन आवश्यक सीप र स्रोतहरू विकास गर्न प्रेरित गर्दछ। यो दिगो वृद्धि सुनिश्चित गर्न नवप्रवर्तन, स्थानीय स्वामित्व, र सहकार्यलाई प्रोत्साहन गर्दछ, जसले दीर्घकालीन र समान भविष्य निर्माण गर्न मद्दत पुर्याउँछ।
कार्यक्रमका अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठ, भूटान र नेपालका लागि FAO प्रतिनिधि केन शिमिजु र मण्डनदेउपुर नगरपालिकाका मेयर टोक बहादुर वाइबाले सय हेक्टर भन्दा बढी कृषिभूमि सिंचाइ गर्ने प्रणालीको शिलान्यास गरेर पहलको उद्घाटन गर्नुभएको हो।
मण्डनदेउपुर नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगरपालिकाको प्रतिबद्धता प्रतिबिम्बित गर्ने झण्डोत्तोलन कार्यक्रम पनि समावेश गरिएको थियो।
दिगो भविष्यतर्फको यात्रा-केन शिमिजु
FAO का प्रतिनिधि केन शिमिजुले '4 Betters' ढाँचाको सम्भावना "उत्पादन वृद्धि ,पोषणमा सुधार, वातावरणमा सुधार, संमृद्ध जीवनयापन"लाई उजागर गर्दै, यसले नेपालभरि दिगो र समावेशी समुदाय निर्माण गर्ने खाका प्रस्तुत गर्ने बताउनुभयो।
यसले परम्परागत कृषि अभ्यासलाई आधुनिक प्रविधिसँग एकीकृत गरी सांस्कृतिक सम्पदाको सम्मान गर्दै दिगोपनलाई अगाडि बढाउनेमा जोड दिनुभयो।
यो पहलले कृषि, खाद्य सुरक्षा, र जीविकोपार्जनसँग सम्बन्धित प्रमुख मुद्दाहरू समाधान गर्न व्यापक दृष्टिकोण अपनाएको छ।
यसमा समावेश छन्:
• क्षेत्रीय कृषि उत्पादकत्वलाई बढावा दिने सिंचाइ बाँध निर्माण।
• विद्यालयहरूमा पोषण बगैंचाको स्थापना।
• किसान क्षेत्रीय विद्यालयहरूको सुदृढीकरण।
• गुरुङ समुदायमा होमस्टेको माध्यमबाट पर्यावरणीय पर्यटनको प्रवर्द्धन।
• जलचर पालन कार्यक्रमको सुरुवात।
• परम्परागत कृषि पद्धतिको संरक्षण।
समुदायलाई सशक्त बनाउने पहल यो परियोजनाले महिला, युवा, र आदिवासी समुदायलाई सशक्त बनाउँदै समावेशी सहभागिता र लाभ सुनिश्चित गरेको छ।
यसले सांस्कृतिक परम्परालाई दिगो समाधानसँग जोड्दै सामूहिक प्रगति र नवप्रवर्तनलाई प्रोत्साहन गरेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठज्यूले यो पहललाई दिगो कृषि र समुदाय विकासतर्फको महत्वपूर्ण माइलस्टोन भएको भन्दै मण्डनदेउपुर नगरपालिका र त्यहाँका बासिन्दाहरूलाई बधाई दिनुभयो।
उहाँले भन्नुभयो, “यो नेपालमा दिगो कृषि विकासतर्फको एक नयाँ अध्याय हो। FAO नेपाललाई देशको कृषि क्षेत्रमा परिवर्तन ल्याउन गरेको दीर्घकालीन योगदानका लागि धन्यवाद दिन चाहन्छु र परियोजनाको सफलताको कामना गर्दछु।”
मण्डनदेउपुर नगरपालिकाका मेयर टोक बहादुर वाइबाज्यूले FAO र नेपाल सरकारलाई साझेदारीको लागि धन्यवाद ज्ञापन गर्दै अन्य क्षेत्रमा पनि 4 Betters मोडललाई दोहोर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “यो पहलले हाम्रो समुदायको लागि दिगो र समृद्ध भविष्य निर्माण गर्ने हाम्रो साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ।”
अन्य वक्ताहरूले FAO, संघीय र प्रादेशिक मन्त्रालयहरू, विद्यालयहरू, किसान समुदाय, र सञ्चारमाध्यमलाई यो पहल सफल बनाउनका लागि दिएको महत्वपूर्ण योगदानको प्रशंसा गर्नुभयो।
नयाँ उदाहरण प्रस्तुत गर्दै मण्डनदेउपुर नगरपालिकामा सुरु भएको 4 Betters नमुना गाउँले दिगो विकासको लागि नयाँ खाका प्रस्तुत गरेको छ।
यसले नवीन कृषि अभ्यासमार्फत समुदायमा परिवर्तन ल्याउँदै, स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने र समुदायलाई सशक्त बनाउने काम गरेको छ।
यसले नेपालका दिगो विकास र समावेशी वृद्धि लक्षमा महत्वपूर्ण योगदान पुर्याउनेछ।